PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

विरामी महन्थ, अस्वस्थ राजपा 



बीपी साह

विरामी महन्थ, अस्वस्थ राजपा 

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अनुपस्थितिले राजपा नै लथालिंग भएको छ। संयोजक ठाकुर विरामी परेपछि पार्टीको गतिविधि पूरै सुस्ताएको छ।

चैतको अन्तिम साताबाट विरामी परेका ठाकुरको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा सघन उपचार भएको थियो। सात वर्ष पहिले उनको मुटुमा पेसमेकर लगाइएको थियो। मुटुमा अझै तीनवटा प्वाल देखिएपछि उनको सघन उपचार हुँदैछ।

वैशाखको दोस्रो साता भारतबाट उपचार गरी फर्केका ठाकुर एक साताको रेस्टपछि निको हुने बताइएको थियो। तर, हालसम्म उनको स्वास्थ्य अवस्थामा खासै सुधार भएको छैन।

ठाकुरको निजी सचिवालयका अनुसार उनलाई अझै तीन साता अर्थात् जेठको मध्यसम्म आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।

ठाकुरको अवस्थामा राम्रो सुधार नभएकाले सोमबार काठमाडौंस्थित नर्भिक अस्पतालमा चेकअप हुने सचिवालयले जनाएको छ।

ठाकुर विरामी परेको करिब एक महिनादेखि राजपाको कुनै पनि समितिको बैठक बस्न सकेको छैन।

वैशाख ७ गतेको पार्टी स्थापना दिवसमा ठाकुर अनुपस्थित रहे। ८ गते बोलाइएको राजनीतिक समितिको बैठक ठाकुरकै अनुपस्थितिका कारण अनिश्चितकालका लागि स्थगित भयो।

राजपा संसदीय दलको विधान तयार भए पनि ठाकुरकै अनुपस्थितिका कारण हालसम्म अनुमोदन हुन सकेको छैन।

पार्टीको महाधिवेशनका लागि तय गरिएको समय गुज्रिसकेको छ। नयाँ मिति तोक्न अध्यक्ष मण्डलको बैठक बस्न नसकेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पहिलोपोस्टलाई जानकारी दिए।

यादवले संयोजक ठाकुर विरामी परेका कारण बैठकहरु प्रभावित भएको बताउँदै भने, ‘पार्टीमा जुनसुकै निर्णय अध्यक्ष मण्डलको सहमतिबाट हुन्छ। ठाकुरजी अहिले बैठकमा आउन सक्ने अवस्थामा नरहेकाले कुनै पनि निर्णय गर्न सक्ने अवस्था छैन। जसकारण कुनै पनि बैठक बस्न सकेको छैन।’

यादवले केही साताभित्रै ठाकुर स्वास्थ्य हुने दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell