काठमाडौं : चौथो केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली सशस्त्रको एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन्।
सोमवार भएको सेमिफाइनलमा जित हात पार्दै यी दुईले उपाधि भिडन्त पक्का गरेका हुन्।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले न्यू डायमण्ड एकेडेमीलाई ३-१ को सेटमा हरायो। एपीएफले २५-१८, २१-२५, २५-१०, २५-२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो।
यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले पश्चिमाञ्चल क्षेत्रिय भलिबल टिमलाई सोझो सेटमा हरायो। सुरुको दुई सेट पुलिसले २५-१९, २५-१५ ले सहजै जितेमको थियो। तेस्रो सेटमा पश्चिमाञ्चलले टक्कर दिएपनि पुलिसले २५-२३ ले जित्दै ३-० ले खेल जितेको हो।
फाइनल खेल मंगलबार हुनेछ। प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
यसैगरी उत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट हुने खेलाडीले ५-५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेर पनि उत्कृष्टभित्र पर्न नसकेका एक खेलाडीलाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।