
मंगलबारेः गाडीमा आगजनी गरेको आशंकामा इलाम प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
प्रहरीले इलाम नगरपालिका–३ जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३ पूवामझुवाका समिर भन्ने सञ्जीवकुमार राईलाई सोमबार पक्राउ गरेको हो।
मेची राजमार्गको इलाम पूवाखोला सडकखण्डमा गत वैशाख २२ गते गाडीमा आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ इलामका प्रहरी उपरीक्षक विपीनकुमार कर्माचार्यले जानकारी दिए।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको दिन गाडीमा आगजनी भएको थियो। पक्राउ परेका उनीहरुको साथबाट चन्दा रसिद, पार्टीका विभिन्न पर्चालगायतका सामग्रीसमेत बरामद गरिएको बताइएको छ।
बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको (पिकअप) मा आगजनी भएको थियो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीको भनाइ छ। रासस