काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरु प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन्। सांसदमात्र होइन ओली क्याबिनेटमा रहेका मन्त्रीहरुसमेत उनीप्रति आक्रमक देखिए।
दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा माओवादीका मन्त्रीहरुले बजेट तयारीबारे ब्रिफ गराएका थिए। गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योग मन्त्री मातृका यादवलगायतका मन्त्रीहरुले बजेटबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्रीले बजेटका विषयमा आफूसँग कुनै छलफल नगरको मन्त्रीहरुको गुनासो थियो। यसैगरी सांसदहरुले पनि प्रधानमन्त्रीले बजेटमा एकलौटी गर्न खोजेको आरोप लगाए। आफ्ना सांसद र मन्त्रीले गुनासो गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग त्यसबारे छलफल गर्ने बताएका थिए।
बैठकमा अध्यक्ष प्रचण्डले बजेटको विषयमा आफ्नो पनि असन्तुष्टि रहेको बताउँदै आजै ओलीसँग छलफल गर्ने बताएका थिए। ओलीसँगको छलफल पछि पुनः संसदहरुलाई बजेटबारे उनले ब्रिफ गर्ने जनाएका छन्।
बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संसदीय दलका नेतासमेत रहेको प्रचण्डले पार्टी एकताका विषयमा पछिल्लो पटक ओलीसँग कुनै सहमति नभएको प्रष्ट पारे।
मिडियामा आएअनुसार चार बुँदे सहमति नभएको प्रचण्डले सांसदहरुलाई जानकारी दिए।
‘मिडियामा आएको समाचार जस्तो कुनै चार बुँदे सहमति भएको छैन। अहिले पनि हामी बराबरीको कुरामा छौं,’ प्रचण्डलाई उद्धृत गर्दै एक सांसदले पहिलोपोस्टलाई भने, ‘हामी तल परेर कुनै सहमति गर्दैनौं। सहमतिबारे तपाईँहरुलाई जानकारी गराइनेछ। केही मिडियाले तथ्य बंग्याएर गलत समाचार लेखेका छन्।’
अहिले अन्य दलसँग वृहत गठबन्धन र एकताको विषयमा छलफलमात्र चलेको र त्यसमा कुनै ठोस निर्णय भइनसकेको प्रचण्डले बताएका थिए।
बैठकले विभिन्न निर्णयहरुसमेत गरेको छ।
बैठकले प्रदेश र केन्द्रका सांसदबीच समन्वय गर्न जिम्मेवारी तोकेको छ भने राष्ट्रिय सभाको संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ।
यसैगरी प्रदेश दुईको इन्चार्जसमेत् माओवादी केन्द्रले फेरेको छ। मातृका यादव मन्त्री भएपछि दुई नम्बर प्रदेशको इन्चार्ज प्रभु साहलाई बनाइएको छ। साहले उक्त प्रदेशका सांसदहरुसँग समन्वयको भूमिका निर्वाहसमेत गर्नेछन्।
यसैगरी प्रदेश एकका सांसदसँग राम कार्की, तीनका सांसदसँग पम्फा भुषाल, चारका सांसदसँग देव गुरुङ, पाँचका सांसदसँग टोपबहादुर रायमाझी, कर्णालीका सांसदसँग जनार्दन शर्मा र सातका सांसदसँग लेखराज भट्टले समन्वय गर्ने निर्णय भएको सांसद शिवकुमार मण्डलले पहिलोपोस्टलाई बताए।