
- रीना मोक्तान-
वैशाख २८ अधीरताकासाथ पर्खिरहेका छन् झापा दमकका कबीर खड्का।
आफू हिरो भएको पहिलो फिल्म 'लम्फू' हलहरूमा लाग्दै गर्दा उत्साही छन् कबीर।
डेब्यु फिल्ममै 'लिड रोल'!
त्यसैले बेचैन छ उनी।
पाँच वर्षअघि फिल्मी क्षेत्रमा आफ्नो नाम थप्न झापाबाट काठमाडौं पसेका २३ वर्षे कबीर एकाएक उदाएका भने होइनन्।
काठमाडौं आएपछि उनले फिल्मी क्षेत्र बुझ्न नै दुई वर्ष लाग्यो। एसइइमा डिस्टिङसन उनलाई साइन्स पढेर इन्जिनियर बन्ने दबाब आयो। प्लस टुमा साइन्स त पढे तर इन्जिनियरिङतिर मन ढल्केन।
बुवाआमाको चाहना थियो-छोराले इन्जिनियरिङ पढोस्। कबीरले फिल्म पढ्न अनुमति मागे। तर बुवाआमाको जवाफ आउँथ्यो-फिल्म क्षेत्रमा भविष्य छैन। 'तर मलाई फिल्म नै पढ्नु थियो, बुवाको अनुमति पर्खेर बसे,' कबीरले फिल्मी यात्राको पहिलो अप्ठेरो सुनाए। यस्तैमा एक वर्ष खेर गयो।
अनि भर्ना भए-धुम्बारहीमा रहेको ओस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिज कलेजको ब्याचरलमा। कलेजमा भर्ना भएपछि आफ्नो कछुवा चालको फिल्मी यात्रा शुरु भएको उनले बताए।
'जसरी पनि हिरो बन्ने नीति थियो,' कबीरले भने, 'ओस्करबाट कछुवा चालमा शुरु भयो।' त्यसपछि उनले हिरो बन्न नाटकमा अभिनय गरे। सर्ट फिल्म पनि छाडेनन्। र्याम्पमा उत्रे। विज्ञापनमा देखिए।
फिल्म कलेज

अभिनय ड्राइभिङ जस्तै लाग्छ रे। 'जति चलाउँदै गयो त्यति हात बस्दै जाने,' उनले थपे। अहिले एक्टिङमा ब्याचलर सकाए उनले।
प्लस टुमा घरबाटै पढाइ खर्च पाएका उनले ब्याचलरमा भने घरको भर परेनन्। उनले भने, 'कलेजको फि घरबाटै आउँथ्यो। बाँकी आफैले आँटे,' उनले भने। यही मेसोमा र्याम्पमा उत्रेको उनले सुनाए।
'लम्फू' यात्रा
जिद्दी स्वभावले नै लम्फूसम्म आइपुगे कबीर। 'जिद्दी रुपले फिल्म कलेज पढें' उनले भने 'धेरै फिल्महरूमा अडिसन दिएँ। रिजेक्ट भएँ। त्यही ठक्कर खाएर लम्फूको बेला म तयार भएछु।'ब्याचलरको पढाइ सकिने अन्तिम दिनहरूमा लम्फूको अडिसन दिएका थिए उनले। उनलाई फिल्म निर्माण पक्षले दुईपटक अडिसन लिए। त्यसपछि बल्ल छानिए लिड रोलमा।
निर्देशक गोपालचन्द्र लामिछानेको रोजाइमा परेपछि झनै डर लागेको उनले सुनाए। 'पहिलोपल्टै आँटेर लिड रोलका लागि अडिसन दिए, छानिए पनि। तर, रोललाई न्याय दिन सक्दिन कि भनेर डर लागिरह्यो,' कबीरले भने।
लम्फूमा लिएपछि मिडियामा नोटिस भएँ। कबीरलार्इ बुवाको फोन आयो, 'तेरो फोटो आको रहेछ पत्रिकामा खुसी लाग्यो।' त्यसपछि खुसीले उफ्रे कबीर।
भन्छन् 'अहिले परिवारबाट सपोर्ट छ।'
आरोपको जवाफ वैशाख २८ मा
कबीर आफैले पैसा हालेर फिल्ममा लिड रोल पाएको कतिपयको आरोप छ।.jpg)
'यस्तो आरोप आउनु जायज छ। नेपालको ट्रेन्ड पनि त छ त्यस्तो। त्यहीमाथि मेरो वाउ लुक पनि छैन, यत्तिको छ, यो त पैसा हालेर आएको जस्तो लाग्छ होला सबैलार्इ, यो सबको जवाफ म वैशाख २८ मै दिन्छु।'
फिल्ममा लम्फूकै भूमिकामा छन् कबीर। आफूले सोचेभन्दा बढी पारिश्रमिक 'लम्फू'बाट प्राप्त गरेको कबीरको दाबी छ। पारिश्रमिक राम्रो पाएकैले मेहनत पनि गरेको उनले सुनाए। त्यही मेहनतको फल फिल्म 'लम्फू'बाट पाउनेमा आशावादी छन् कबीर।