PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

'राजनीतिक स्थायित्वको अर्थ स्वतन्त्र न्यायपालिकासँगको सम्झौता होइन'



पहिलोपोस्ट

'राजनीतिक स्थायित्वको अर्थ स्वतन्त्र न्यायपालिकासँगको सम्झौता होइन'

काठमाडौँः कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले कानुन दिवस २०७५ का अवसरमा सम्पूर्ण न्यायप्रेमी नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

नेपाल प्रधान न्यायालयको ऐन, २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष मनाइँदै आएको कानून दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रुपमा रहेको सन्देशमा उल्लेख छ।

सन्देशमा भनिएको छ, “नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशमा सुशासन, शान्ति, न्याय, विकास र समृद्धि हाँसिल गरी न्यायपूर्ण समाज स्थापनार्थ संविधान र कानुन कार्यान्वयनको जिम्मेवारी प्राप्त निकाय, पदाधिकारी, सरोकारवालालगायत न्याय र कानुनप्रेमी समस्त आम जनसमुदायलाई विधिको शासनको मर्मप्रति समर्पित भई क्रियाशील रहन यो दिवसबाट थप प्रेरणा, उर्जा र सामथ्र्य प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु।”

विधिको शासनको प्रत्याभूति दिलाई विकास, शान्ति र समृद्धिको सुनिश्चिताका लागि स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्न आजको यस विशेष दिनमा सबैमा विशेष आग्रह गर्दछु, उनले भनेका छन्।

जोशीले सन्देशमा भनेका छन्, “कानून दिवस शुत्रपात गराएको तत्कालीन समयको सन्दर्भ र वर्तमान परिप्रेक्ष्यलाई संवैधानिक सर्वोच्चता र विधिको शासनको कसीमा नियाल्दा धेरै विषयमा हामीले सन्तोष लिने र गर्व गर्ने पक्षहरु विद्यमान रहेको छ।”

संघीय लोकतान्त्रिक गणतन्त्र, स्वतन्त्र न्यायपालिका, मानवअधिकारको सुनिश्चिता र विधिको शासनप्रति प्रतिबद्ध प्रणालीको व्यवस्थासहित नेपाली जनताले आफ्ना जनप्रतिनिधिमार्फत नेपालको संविधान जारी गरी लागू गरेको पनि उनले सन्देशमा व्यक्त गरेका छन्।

कामु प्रधानन्यायाधीश जोशीले विकास र समृद्धितर्फ उन्मुख हुँदै गर्दा जनप्रतिनिधिमूलक राजनीतिक नेतृत्व न्यायपूर्ण समाज स्थापनाको उद्देश्यप्रति उदासीन हुन पुगेको वर्तमान समयमा प्राप्त अन्य सबै उपलब्धि गौण हुन पुग्दछन् भन्नेमा विशेष सजग हुनु जरुरी रहेको बताउँदै विकास र समृद्धि मात्र न्यायपूर्ण समाजको विकल्प हुन सक्दैन र राजनीतिक स्थायित्वको अर्थ स्वतन्त्र न्यायपालिकासँगको सम्झौता पनि होइन, राज्यका अन्य निकायको महत्व र आवश्यकता जति छ, न्यायपालिकाको सार्थक उपस्थिति र भूमिका उत्तिकै अपरिहार्य छ, भनेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell