
काठमाडौँः प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठकमा प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा संशोधनसहित पेस हुनेछ। यस्तै यसअघि बैठकमा पेस गरिएका चार अध्यादेशको सैदान्तिक छलफललाई पनि सम्भावित कार्यसूची बनाइएको छ।
प्रतिनिधिसभा नियमावली मस्यौदा आइतबारको बैठकमा पेस भएको थियो। सोही बैठकले मस्यौदालाई संशोधन दर्ताका लागि अनुमोदन गरेको थियो।
संशोधनका लागि तोकिएको समयसीमामा ६ वटा संशोधन दर्ताका भएका छन्। जसमा नेकपा एमालेका तीन सांसद्ले फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई स्वतः निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका छन्।
एमालेका भैरवबहादुर सिंह, नरबहादुर धामी र दामोदर भण्डारीले उक्त संशोधन राखेका हुन्।
यस्तै, कांग्रेसका तर्फबाट सांसद् मीनेन्द्र रिजाल लगायतका पाँच सदस्यले प्रतिनिधिसभाका विषयगत समितिको संख्या घटाउन माग गरेका छन्। हाल प्रस्तावित दश समितिलाई सात कायम गर्नुपर्ने उनीहरूको माग छ। न्याय परिषद् र न्याय सेवा आयोगलाई समितिको क्षेत्रधिकार बाहिर राख्नुपर्ने माग उनीहरूको छ।
यस्तै अाजको बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष ०७५/०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गर्ने सम्भावित कार्यसूची छ।