
काठमाडौँ: गत शुक्रबार राति नख्खु कारागारभित्र एक कैदीको रहस्यमय मृत्यु भएको छ। बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनुवारको मृत्यु भएको हो। सुनुवार कर्तव्य ज्यान मुद्धाको सजाय भुक्तान गरिरहेका थिए।
मृतक सुनुवारका आफन्तले जेलभित्र नै हत्या भएको हुनसक्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। परिसरका प्रमुख एसएसपी गणेश ऐरले भने 'कारागारभित्र एक कैदीको मृत्यु भएको छ। के कसरी भयो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ। पोस्टमार्टम रिपोर्ट आएपछि थप खुल्नेछ।‘
मृतक सुनुवार प्रेमिकाको हत्यामा कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गरिरहेका थिए। कारागारभित्रका चौकीदार र जेलरको योजनामा हत्या भएको हुनसक्ने मृतकका परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।
घटना छानबिनका लागि महानगरीय प्रहरी परिसर ललितपुरले समिति गठन गरेको छ।