भक्तपुरः नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकी छिन्।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको उनको दाबी छ।
पार्टी एकिकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढङ्गले दुई पार्टी एकिकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकिकरणका लागि आवश्यक तयारी गरिरहेको बताइन्।
भुषालले पार्टी एकिकरणका विषयमा केही सञ्चार माध्यममा अध्यक्ष दाहालले भागबण्डाका बारे आएका समाचारहरू निराधार भएको प्रस्ट पारेकी छिन्।
अहिले नै सरकारका गतिविधिको समीक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुषालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेन्डा अनुसार काम अघि बढाएको बताइन् ।
सरकारले तोकिएकै समयमा बजेट ल्याइसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन्। कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले विगतमा जस्तै नभई यो सरकारले कूटनीतिक पाटोलाई देश र समयानुकूल बनाउँदै गएको उनको भनाई छ।