काठमाडौं : कान्तिपुर पब्लिकेशन्सको आयोजनामा कान्तिपुर रनर हाफ म्याराथन यही जेठ ५ गते हुने भएको छ। २०६७ सालबाट सुरु भएको हाफ म्यराथनको यो आठौँ संस्करण हो।
यसअघि कान्तिपुर पब्लिकेशन्सको वार्षिकोत्सवको आयोजना हुँदै आएको हाफ म्याराथन यस पटक भने छुट्टै समयमा हुन लागेको हो।
अब देखि वार्षिकोत्सव भन्दा फरक समयमा आयोजना हुने र कान्तिपुरको कार्यक्रम भन्दा पनि राष्ट्रकै हाफ म्याराथन रहेको आयोजनकले जनाएको छ।
यस पटक पनि २१.१ किलोमिटरको हाफ म्यारथनसँगै ५ किलोमिटरको कर्पोरेट-मिडिया दौड र ह्विल चियर दौडमा समेत प्रतिस्पर्धा हुनेछ।
हाफ म्यराथनका लागि दुई जना एथ्लेटिक्स प्रशिक्षकले रुट सर्टिफाइड गरेको त्यसमा संलग्न रहेका राष्ट्रिय खेलकुद परिषद्का चिफ कोच आमिर यादवले जानकारी दिए।
यस्तै यस पटक हाफ म्याराथनको टाइटल स्पोनसरको रुपमा रमन मोटर्सको रनर मोटरसाइकल जोडिएको छ। रमन मोटर्सका सिइओ रमन महतोले कम्पनीको सिएसआरको रुपमा हाफ म्याराथनसँग सहकार्य गरेको र यसलाई कल्चर, फनको रुपमा निरन्तरता दिने बताए।
हाफ म्याराथनमा महिला र पुरुष दुवै विधाको विजेताले नगद ५०-५० हजार र रनर काइट स्कुरटर पुरस्कार पाउनेछन्। दोस्रो हुनेले समान ३० हजार तथा तेस्रो हुनेले समान २० हजार प्राप्त गर्नेछन्। यस्तै चौथो देखि छैटौँ हुनेले १० हजार, ५ हजार र ३ हजार हात पार्नेछन्।
हाफ म्याराथन कान्तिपुर पब्लिकेशन्स रहेको सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएर माइतिघर, बबरमहल, नयाँ बानेश्वर, तिनकुने, कवटेश्वर, जडिबुटी, गट्ठाघर, सानोठिमि हुँदै, भक्तपुरको सल्लाघारी पुगेर थिमी, गट्ठाघर हुँदै पुन: गट्ठाघर हुँदै फर्केर सेन्ट्र्ल बिपजनेस पार्क पुगेर टुङ्गिनेछ।
अहिलेसम्म हरीकुमार रिमालले पुरुषतर्फ ३ तथा कान्छियमाया कोजुले महिलातर्फ ४ पटक उपाधि जितिसकेका छन्। अर्जुन कुमार बस्नेत, कल्याण बानियाँ, अनिस थापा मगर र गोपिचन्द्र पार्की, बृन्दा श्रेष्ठ,बिश्वरुपा बुढा र रेशु बस्नेतले एक-एक पटक उपाधि जितेका छन्।
हाफ म्याराथनलाई राष्ट्रको ठूलो म्याराथन बनाउने उदेश्य रहेको र यसलाई अन्तर्राष्ट्रिय रुपमा आयोजना गर्ने प्रयास भइरहेको पब्लिकेशन्सका एजिएम महेश्वर स्वाँरले बताए।
ह्विल चेयर स्पर्धातर्फ विजेताले २०-२० हजार पाउनेछन् भने दोस्रो हुनेले समान १० तथा तेस्रो हुनेले समान ५ हजार हात पार्नेछन्।
मिडिया र कर्पोरेट क्षेत्रका व्यक्तिहरुले प्रतिस्पर्धा गर्ने ५ किमि दौडको विजेताले काठमाडौं-हङकङ-काठमाडौंको हवाई टिकट पाउनेछन्। यस्तै दोस्रो हुनेले काठमाठौं-पोखरा-काठमाडौं तथा तेस्रोले माउन्टेट फ्लाइटको टिकट पाउनेछन्।