PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

नेपाल भारत सम्बन्ध : नेतृत्व स्तरमा ठिकठाक, जनस्तरमा समस्याग्रस्त



पहिलोपोस्ट

नेपाल भारत सम्बन्ध : नेतृत्व स्तरमा ठिकठाक, जनस्तरमा समस्याग्रस्त

काठमाडौं: नेपाल भारत सम्बन्ध राजनीतिक नेतृत्व तहमा हेर्दा मिले जस्तो लागे पनि वास्तविक रुपमा जनस्तरमा पुग्दा समस्याग्रस्त रहेको कुटनीतिक क्षेत्रका जानकारहरुले बताएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको सन्दर्भमा 'सेन्टर फर डिप्लोमेसी एण्ड डेभलप्मेन्ट'ले आयोजना गरेको नेपाल भारत सम्बन्धः सम्भावना र चुनौती विषयक अन्तर्क्रियामा उनीहरुले यस्तो बताएका हुन्। 

कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका पूर्व प्रमुख जयराज आचार्यले कुटनीतिको पहिलो काम विश्वास र समझदारी कायम गर्नु रहेको बताए। राजनीतिक नेतृत्वले त्यसका लागि काम गर्नुपर्ने उनको भनाइ थियो। 

'नेपाल भारत सम्बन्ध कुटनीतिक बहुआयामिक छ, राजनीतिक नेतृत्व तहमा जाँदा सम्बन्ध ठिकठाक हुन्छ। सहज देखिन्छ तर सतहमा पुग्दा अभ्यासमा जाँदा समस्यै समस्या छ,' उनले भने। 

नेपालमा संविधान जारी भएसँगै भारतले लगाएको नाकाबन्दीले नेपालमा मात्र नभइ भारतलाई पनि घाटा पुर्‍याएको उनको भनाइ थियो। 'सन् २०१४ मा भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भए। नेपालमा भारतसँग राम्रो सम्बन्ध रहेका सुशील कोइराला प्रधानमन्त्री बने,' आचार्यले भने, 'संविधान आयो ब्लकेड पनि आयो, मोदीले संसदमा भाषण गर्दाको त्यो उत्साह क्षणभरमै ‌औँशीको रातमा परिणत भयो।'

भारतले लगाएको नाकाबन्दीको विषयमा नेपाली नेताहरुले भारतीय पक्षसँग आँखा जुधाएर प्रश्न गर्नुपर्ने भए पनि त्यस्तो गर्न नसकेको बताए। 'नेपाली नेताले आँखा जुधाएर भारतलाई सोधेकी सोधेनन्, तिमीलाई के मा चित्त बुझेन्, किन यस्तो गर्दैछौ भनेर, नाकाबन्दीले दुबैलाई घाटा लागेको हो,' उनले भने।

कार्यक्रममा अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका सल्लाहकार रहेका गोपाल खनालले भारतको नेपाल हेर्ने दृष्टिकोणमा सँधै चीन पर्ने गरेको बताए। 'दुई देशबीचको सम्बन्धमा भूराजनीतिक चुनौतीहरु छन्,' उनले भने, 'भारतले नेपाल हेर्ने दृष्टिकोण चीनलाई हेरेर बनाउँछ। चीनले सहयोग दियो भने हाम्रो आगन अर्कैले लग्यो की भन्ने ठान्छ।'

उनले पछिल्लो समय भारतको विदेश नीतिमा परिवर्तन आएको भन्दै त्यसबाट नेपालले फाइदा लिनुपर्ने बताए। 'अहिले भारतको विदेश नीतिमा परिवर्तन आएको छ, राजनीतिक नेतृत्वमा गएको छ,' उनले भने, 'नत्र विश्वकै छैटौं शक्ति राष्ट्रका प्रधानमन्त्रीले नेपाललाई किन यति धेरै महत्व दिए। यसबाट नेपालले पनि फाईदा पुग्छ।'   

कार्यक्रममा परराष्ट्र मामिलाका जानकारहरु प्रधुम्नविक्रम शाहले मोदीको नेपाल भ्रमणका क्रममा लिपुलेकको विषय उठाउनुपर्ने बताए। मोदीको चीन भ्रमणका क्रममा लिपुलेक हुँदै आर्थिक र पर्यटकीय केन्द्रको रुपमा अगाडि लाने सहमति भएको थियो।  'दोक्लमको विषयमा कुरा उठ्दा त्रिदेशीय विन्दु भन्ने भारतले लिपुलेकमा किन सम्झौता गर्‍यो यस विषयमा कुरा उठाउनुपर्छ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell