PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

टाउको गनेर प्रदेशको नाम र राजधानी तोकिन्न : मुख्यमन्त्री राई



अनन्तराज न्यौपाने

टाउको गनेर प्रदेशको नाम र राजधानी तोकिन्न : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाङ्कन र राजधानीको निर्णय मतदानबाट नभई सहमतिबाट गरिने घोषणा गरेका छन्।

प्रदेश सभाको पहिलो अधिवेशनको समापनका दिन बुधवार विशेष समय लिएर बोल्दै मुख्यमन्त्री राईले मतदानबाट नभई सहमतिबाट प्रदेशको नामाङ्कन र राजधानीको निर्णय गरिने जानकारी दिएका हुन्।

‘हामी माननीय सदस्यहरूलाई लाइन लगाएर, उहाँहरूको टाउको गनेर अनि दुई तिहाई पुर्‍याएर प्रदेशको नामाङ्कन र स्थायी राजधानीको फैसला गर्ने पक्षमा छैनौँ’, राईले भने, ‘हतार, भावना, प्रभाव र दबाबमा यो सभा आजसम्म बहकिएको छैन। त्यसैले राजधानी र नामाङ्कनको सबाल सहमतिबाट टुङ्गिने छ।’

शेरधनले स्थायी राजधानीको घोषणाका विषयमा मूल प्रबाहका केही सञ्चार माध्यमले प्रदेशसभा र सरकारलाई अनावश्यक विवादमा ल्याएको भन्दै रोष प्रकट गरे।

तर यसरी विवादमा ल्याउने भनी आरोपित सञ्चार माध्यमको नाम र कुन समाचार भन्ने केही उल्लेख गरेनन्।

उनको आरोप थियो, ‘प्रायोजित रूपमा निराधार कुरालाई समाचार बनाइएको छ।’

‘प्रदेश राजधानीका विषयमा सरकारले अनावश्यक र अनुचित ढङ्गले लबिङ गरेको छैन, सरकार त्यो पक्षमा छैन’, उनको भनाइ थियो, ‘यो विषय छिटै टुङ्ग्याइने छ ।’

स्टिकर छाप्नै दुई महिनाभन्दा बढी

यसअघि फागुन १४ गते प्रदेश सभाको बैठकलाई पहिलो सम्बोधन गर्दै मुख्यमन्त्री राईले ‘नागरिकसित प्रहरी कार्यक्रम’–को उद्घाटन छिटै गरिने घोषणा गरेका थिए। उनले कार्यक्रमको उद्घाटन गरिएको १ महिनाभित्र प्रदेशका सबै घरधुरीमा प्रहरीको टोली पुगेर स्टिकर टाँसिसक्ने जानकारी दिएका थिए।

नागरिक सुरक्षा र सुशासनका लागि सरकारले ‘नागरिकसित प्रहरी कार्यक्रम’ सुरु गर्न लागेको उनको कथन थियो ।

कार्यक्रमको घोषणा गरेको दुई महिना १२ दिनपछि मुख्यमन्त्री राईले ‘नागरिकसित प्रहरी कार्यक्रम’–का लागि स्टिकर छपाइको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले प्रदेशको शान्तिसुरक्षा बिथोल्न अनेक भेषमा अनेक तत्त्व सल्बलाइरहेको दाबा गर्दै सुरक्षामा आँच पुर्‍याउने सबै तत्त्व र कुराप्रति सरकार सचेत रहेको चेतावनी दिए ।


अरूले २ हामीले ११

शेरधनले प्रदेश नम्बर १ को संसद्ले गति नलिएको भन्ने आरोप आफूले बारम्बार सुनेको उल्लेख गरे।

उनले भने, ‘गति नलिएको र कामै नभएको भन्ने मलाई लाग्दैन। अरू प्रदेशमा २ वटा विधेयक पारित हुँदा हामीले ११ वटा पारित गरेका छौँ । हामी आफ्नो बाटो आफैँ बनाउँदै हिँड्दैछौँ । हाम्रो बाटो अरू कसैले बनाइदिएको होइन । गतिको अर्थ र परिभाषा बदलिएको छैन ।’
 

विषय पेचिलो नबनाऔँ– प्रमुख प्रतिपक्ष 

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयलाई पेचिलो नबनाउन आग्रह गर्दै सर्वसम्मतिबाट निर्णय गर्न माग गरे ।

‘हामी विकास र समृद्धिका यात्रामा छौँ’, नेता कोइरालाले भने, ‘तर नामाङ्कन र राजधानीकै विषयमा विवाद गर्न थाल्यौँ भने यात्रा अवरूद्ध हुनेछ । हामी सांसद् हुन मात्र सांसद भएका होइनौँ, धेरै गर्नुछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell