
काठमाडौं : सडक बालबालिकाहरुको विश्वकप स्ट्रिट चाइल्ड वर्ल्डकप ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा प्रतिस्पर्धा गर्न नेपाली टोली बुधवार रुसको मस्को प्रस्थान गरेको छ।
मस्को जानुअघि बुधवारै १२ सदस्यीय नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको थियो। ९ खेलाडी र ३ अफिसियलसहितको टोलीलाई एन्फा महासचिव इन्द्रमान तुलाधरले बिदाई गरे।
उनले पहिलो पटक यस्तो प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई जितको शुभकामना पनि दिए।
९ जना खेलाडीले मस्कोमा नेपालको प्रतिनिधित्व गर्नेछन्। स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा हुने प्रतियोगिता सेभेन ए साईडको आधारमा संचालन हुनेछ। पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। प्रत्येक टोलीले समूह चरणमा दुई खेल खेल्नेछ।
रुस जाने नेपाली टिममा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन्।
सेल्टर आश्रय नेपालले तीन महिनाअघि सडक बालबालिकाहरुको राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको थियो ।