
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा च्याम्पियन म्यानचेष्टर सिटीले ब्राइटनलाई ३-१ ले पराजित गर्दै एकै सिजन सर्वाधिक अंक जोड्ने र सर्वाधिक गोल गर्ने रेकर्ड बनाएको छ।
घरेलु मैदानमा ३ ल गरेको सिटीले यस सिजन १०५ गोल गरिसकेको छ। सिटीका लागि डानिलो, बर्नान्डो शिल्भा र फर्नान्डिन्होले गोल गरे।
यसअघि नै प्रिमियर लिगको ट्रफी उचालिसकेको सिटीले ३७ खेलबाट ९७ अंक जोड्दै चेल्सीले बनाएको रेकर्ड तोडेको हो।
यस्तै टोटनहमले न्युकासललाई १-० ले पराजित गर्दै शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। ३७ खेलबाट ७४ अंकका साथ टोटनहम तेस्रो स्थानमा उक्लेको छ। टोटनहमको लागि ह्यारी केनले निर्णायक गोल गरे।
अब अन्तिम चरणको एक खेल बाँकी रहदा लण्डन क्लब टोटनहमलाई लिभरपुलले मात्र अंक तालिकामा पछि पार्न सक्नेछ। ३७ खेलबाट ७२ अंकका साथ लिभरपुल चौथो स्थानमा छ।
अर्को लण्डन क्लब चेल्सी भने हडर्शफिल्डसँग १-१ गोलको बराबरीमा रोकिएपछि शीर्ष चारको सम्भावना कठिन बनेको छ। चेल्सी शीर्ष चारमा पर्न बाँकी खेल जित्नुपर्नेछ भने लिभरपुल पराजित हुनुपर्नेछ।
चेल्सीलाई बराबरीमा रोकेपछि हडर्शफिल्ड भने रेलिगेशनबाट जोगिएको छ। ३७ खेलबाट ३७ अंक जोडेको हडर्शफिल्ड १६औँ स्थानमा छ। यससँगै स्वान्सी सिटी अन्तिम खेलअघि नै रेलिगेशनमा परेको छ।
लण्डनकै अर्को क्लब आर्सनल भने लेस्टर सिटीसँग ३-१ ले पराजित भएको छ।