काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपाल दुई देशबीचको तरुल नभएर दुई महासागरबीचको टापु भएको बताएका छन्।
प्रतिनिधिसभामा बोल्दै भट्टराईले भने, ‘पृथ्वीनारायण शाहको बेलामा ढुंगा थियो होला तर अहिले विकास गरेर दुवै छिमेकी महासागर बनिसकेका छन्। अब हामीले दुवै देशबाट लाभ लिनुपर्छ।’
छिमेकी मुलुकसँगको सम्बन्ध सुधार नगरी सम्वृद्ध मुलुक बनाउन नसकिने उनले बताए। त्यसमा भारतसँग विशेष सम्बन्ध रहेको उनले बताए।
डा भट्टराईले भारतसँग मात्रै होइन चीन, अमेरिका र अरु ५० औं मुलुकसँग विप्पा सम्झौता गर्न आग्रह गरे।
‘पुजी आयात गरौं, बस्तु निर्यात गरौं,’ भन्दै भट्टराईले छिमेकी मुलुकहरुबाट पुँजी ल्याउन आग्रह गरे।
भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कन्जुस्याई गर्न नहुने पनि बताए।
‘जो सुकै आए पनि सत्कार गर्ने हाम्रो परम्परा हो। कसैको अपमान गर्नु हुँदैन,’ भट्टराईले भने, ‘कुराकानीमा राष्ट्रहितको कुरा गरौं। जबसम्म छिमेकी दुई देशसँग सम्बन्ध राम्रो बनाउन सक्दैनौं तबसम्म मुलुक सम्वृद्ध हुँदैन।’
‘ओलीजीले मोदीजीलाई भन्नु पर्यो, काठमाडौंको कुर्सीबाट भारतले के चाहन्छ र दिल्लीको कुर्सीबाट नेपालले के चाहन्छ?’ भट्टराईले भने, ‘दुवै देशको हितमा कुरा हुनु पर्छ।’