काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको अघिल्लो दिन सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट प्रधानमन्त्री केपी ओलीको भिजन 'समृद्ध नेपाल, सुखी नेपाली' लाई सहयोग गर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पदबहालका क्रममा सिंहदरबारमा गरेको पहिलो घोषणा नै - 'समृद्ध नेपाल, सुखी नेपाली' हो। मोदीले त्यसैलाई साथ दिने फेसबुक स्टाटस र ट्विटमार्फत् जानकारी गराएका छन्। बिहीवार दिउँसो तीन ट्विटमार्फत् मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता हुने जनाएका छन्।
As Nepal enters a new era of consolidating the gains of a democracy and achieving economic growth, India remains a steadfast parter of the Nepal Government to implement their vision of ‘Samriddha Nepal, Sukhi Nepali.' https://t.co/EJvRwsmRBw
— Narendra Modi (@narendramodi) May 10, 2018
मोदीको भनाइको भावानुवाद :
म नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा ११ र १२ मे २०१८ मा नेपाल भ्रमण गर्दैछु। प्रधानमन्त्रीका हैसियतमा यो मेरो तेस्रो भ्रमण हुँदैछ।व्यक्तिगत रुपमा म र हाम्रो वर्षौ पुरानो निकट सम्बन्धलाई भारतले दिएको उच्च प्राथमिकतालाई यसले प्रतिविम्वित गर्छ।
गत महिनामा प्रधानमन्त्री ओलीको भारत भ्रमणलगत्तै मेरो नेपाल भ्रमण हुन लागेको हो। यस्ता नियमित उच्चस्तरीय भ्रमण र अन्तर्क्रियाले 'सबका साथ, सबका विकास' भन्ने उद्देश्यसहितको मेरो सरकारको 'छिमेक पहिलो नीति'लाई प्रतिविम्वित गर्छ।
हामी दुई देशले गएका पाँच वर्षमा दुवै मुलुकका जनताका हितमा कैयौं द्वीपक्षीय कन्क्टिभिटी र विकासका योजनाहरु पूरा गरेका छौं।
प्रधानमन्त्री ओली र मैले नयाँ दिल्लीमा द्वीपक्षीय हितका विषयमा गरेका विविध सहकार्य र साझेदारीका छलफलहरुलाई अगाडि बढाउने अवसरका रुपमा लिएको छु।
काठमाडौंका अलावा मेरो जनकपुर र मुक्तिनाथ जाने पनि योजना छ। यी दुवै क्षेत्रले हरेक वर्ष धेरै संख्यामा तीर्थालुलाई आकर्षित गर्दै आएको छ। यी दुवै ठाउँ प्राचिन रुपमा नेपाल र भारतका जनताबीचको सांस्कृतिक र धार्मिक सम्बन्ध बुझाउने आधार हुन्।
लोकतन्त्र, तीब्र आर्थिक वृद्धि र विकासका लागि नेपाल नयाँ युगमा प्रवेश गरेको छ, नेपाल सरकारको भिजन 'समृद्ध नेपाल, सुखी नेपाली'का लागि भारतको अटुटनीय सहयोग र अग्रस्थानमा रहेर हुने साझेदारी कायम रहने छ।
मैले राजनीतिक दलका नेता र नेपालका मित्रहरुसँग पनि भेट गर्नेछु। यो भ्रमण दुई देशका जनताबीचको द्वीपक्षीय लाभ, सहकार्य र समझदारीका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरेको छु।