काठमाडौं : वास्तविक दुई पात्रका कथा र अभिनयमा बनेको फिल्म 'बोबी'को नर्वे प्रिमियर सम्पन्न भएको छ। हलिउड फिल्ममात्र प्रिमयर हुने ओस्लोको भीका भिक्टोरिया हलमा 'बोबी'को प्रिमियर गरिएको हो।
नर्वे, इटाली, माल्टा, युकेका नेपालीसँगै विदेशीले नेपाली फिल्म हेरेका थिए। फिल्ममा प्रयोग गरिएका सबटाइटलका कारण विदेशी दर्शकलाई फिल्म हेर्न सहज भयो। नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपन पनि प्रिमियरमा सहभागि थिए। प्रिमियरमा करिव ४ सय बढी दर्शकको उपस्थिति रहेको फिल्मका निर्देशक मिलन चाम्सले जनाए।
रियल जोडीको रियल प्रेमकथामा बनेको फिल्ममा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका छ । अहिले थापा दम्पतिको एक छोरो छ। पेशाले उमेश इन्जीनियर अनि कविता होटल म्यानेजर हुन्। पहिलोपोस्टसँग कविताले प्रिमियरबाट निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको जनाईन्। प्रिमियरका लागि नेपालबाट निर्देशक चाम्स र विजय लामा नर्वे पुगेका थिए।
फिल्ममा कविता उमेश र विजय लामासँगै रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतको मुख्य अभिनय छ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममामा संचारकर्मी नरेश भट्टराईको कथा, नवराज कृष्ण थापाको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेकोछ।