
काठमाडौं : भारतको कर्नाटक राज्यमा विधानसभाका २ सय २४ मध्ये २ सय २२ सिटका लागि मतदान भइरहेको छ। निर्वाचनको दुई दिन अगाडि त्यहाँको चुनाव आयोगले प्रचार प्रसारका साथै पत्रपत्रिकामा समेत विज्ञापन प्रकाशित गर्न रोक लगाएको छ।
भारतीय भूमिबाट निर्वाचन प्रचारमा रोक लगाएको अवस्थामा भारतीय प्रधानमन्त्री मोदी नेपालबाट कर्नाटकको चुनाव प्रचारमा व्यस्त देखिए। मोदी नेपाल आउनु अगाडि नै बीबीसी हिन्दीमा अनिल चमडीयाले लेखेका थिए - कर्नाटकको चुनाव प्रचार मोदीले नेपालबाट गर्ने।
भारतीय प्रधानमन्त्री मोदीले शनिबार विहानै ट्वीट गर्दै कर्नाटक चुनावमा मतदानका लागि काठमाडौँबाट आह्वान गरेका छन्।
त्यसको झल्को उनले जनकपुरमा गरेको सम्बोधनले समेत दिएको थियो।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका क्रममा आफ्नो नारा ‘सबका साथ सबका विकास’लाई जनकपुर हुँदै काठमाडौँसम्म पुर्याए। उनले नेपालसँग सीमा जोडिएका राज्यको विकासमा समेत जोड दिए। ‘पूर्व–पश्चिम, उत्तर–दक्षिण हरेक दिशामा विकासको रथ दौडिरहेको छ,’ जनकपुरको नागरिक अभिनन्दन समारोहमा भनेका थिए, ‘विशेष गरी हाम्रो सरकारको ध्यान ती क्षेत्रमा छ जहाँ विकासको किरण पुग्न सकेको थिएन। यसमा पूर्वाञ्चल अथवा नेपालको सीमासँग जोडिएको पूर्वी भारतमाथि विशेष ध्यान दिइएको छ।’
मोदीले भारतमा ‘न्यू इण्डिया निर्माण’को संकल्प लिएको भन्दै अगाडि भने, ‘२०२२ मा भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा हुँदैछ। त्यतिबेलासम्म सवा सय करोड भारतीयले न्यू इण्डिया बनाउने लक्ष्य राखेका छन्।’
अधिकांश भारतीय टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण र भारतीय प्रधानमन्त्रीको आधिकारीक ट्वीटरबाट समेत ट्वीट गरिएको उनको सम्बोधनमा भारतमा जातीय र आर्थिक भेदभाव अन्त्य गर्नेसम्म प्रतिवद्धता व्यक्त गरे।
‘हामी एक नयाँ भारत निर्माण गरिरहेका छौँ जहाँ अति गरिब व्यक्तिलाई पनि प्रगतिको समान अवसर प्राप्त हुने छ। जहाँ भेटभाव उच–नीच हुँदैन। सबैको सम्मान हुन्छ, जहाँ बच्चालाई पढाई युवालाई कमाई र वृद्धलाई दबाई प्राप्त हुने छ।’
उनले भारतमा साशस प्रशासन सुधारको काम गरेको समेत दाबी गरे। सरकारी कामका प्रक्रियालाई सरल बनाएको भन्दै उनले आफ्ना कामलाई दुनियाँले तारिफ गरेको बताए। ‘हामी राष्ट्रनिर्माण र जनसहभागिताको सम्बन्धलाई मजवुध बनाइरहेका छौँ,’ उनले अगाडि भने।
उनले आफ्नो मन्तव्यका क्रममा नेपाललाई जोड पनि भारतीय किसानहरुसँग समेत घुमाउरो तरिकाले मत मागिरहेको आभास उनको भाषणमा हुन्थ्यो। ‘अघिल्लो महिना हामीले कृषि क्षेत्रमा एक नयाँ साझेदारीको घोषणा गरेका छौँ। यसबाट कृषि क्षेत्रमा सहयोग बढाउँदै लगिनेछ,’ उनले भने, ‘दुवै देशका किसानहरुको आम्दानी कसरी बढाउने भन्नेमा ध्यान दिइने छ। खेतीको क्षेत्रमा विज्ञान र प्रविधिको सहयोग बढाउँदै लगिने छ।’
भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार जानकी मन्दिरमा पूजा गरे। शनिबार उनले मुक्तिनाथ र पशुपतिनाथमा समेत पूजा गरे। जनकपुरको अभिनन्दन समारोहमा उनले भनेका थिए, ‘आज मैले माँ जानकीको दर्शन गरे। भोलि मुक्तिनाथ धाम र पशुपतिनाथजीसँग आशिर्वाद लिन जानेछु। मलाई विश्वास छ कि देवताहरुको आशिर्वाद र तपाईँ जनताको आशिषले जे सम्झौताहरु हुन्छन् ती सम्झौताहरुले समृद्ध नेपाल र खुशीयाली भारतको संकल्प साकार गर्न सहयोगी हुनेछ।
८० प्रतिशतको हाराहारीमा हिन्दु मतदाता रहेको कर्नाटकका मतदातालाई उनको यो भ्रमणले प्रभाव पार्न सक्ने समेत देखिन्छ।
कर्नाटक चुनावमा मन्दिरको दर्शन
भारतीय प्रधानमन्त्री मोदी नेपालका मन्दिरहरुमा पूजा गरिरहेका बेला भारतीय जनता पार्टीका नेताहरु भने कर्नाटकका विभिन्न मन्दिरमा पूजा गर्न पुगेका थिए। भारतीय सञ्चार माध्यमका अनुसार बीजेपीका मुख्यमन्त्री पदका उम्मेदवार बीएस येदियुरप्पा शिमोगाको शिकारीपुरा मतदान केन्द्रमा मतदान गर्न जानु अगाडि मन्दिरमा पुगेर पूजा गरेका थिए।मतदानका लागि घरबाट निस्कनुअगाडि पूजा गरेका उनले बाटोमा मन्दिरमा पुगेर दर्शन गरे। उनी कर्नाटकका पूर्व मुख्यमन्त्री समेत हुन्। उनीमात्र होइन जेडिएसका मुख्यमन्त्रीका उम्मेदवार एचडी कुमारस्वामीले समेत मतदानपूर्व जयनगरमा श्री अदिचुन्चानागिरी महासम्स्थान मठका निर्मलानन्दनाथ महास्वामीसँग भेट गरी आर्शिवाद लिएका थिए।
त्यस्तै बीजेपीका उम्मेदवार तथा कांग्रेसका मुख्यमन्त्रीका उम्मेदवार सिद्धारमैयासँग प्रतिस्पर्धामा उत्रिएका श्रीरामुलु ले समेत मतदानपूर्व गाइपूजा गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिर दर्शनपछि भनेका थिए, ‘म प्रधानमन्त्री भन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा नेपाल आएको हुँ।’
भाजपाले बदलेको चुनाव प्रचार अभियान
बीबीसी हिन्दीमा प्रकाशित अनिल चमडीयाको टिप्पणीमा भनिएको छ, ‘भारतको चुनाव आयोगले देशको कुनै पनि क्षेत्रमा मतदान हुने दिनको दुई दिन पहिलेदेखि नै चुनाव प्रचार बन्द गर्ने नियम बनाएको छ। यद्यपि, भारतीय जनता पार्टीले चुनाव आयोगको यो प्रावधानलाई निष्प्रभावी बनाउनका लागि आफ्नो अलग्गै चुनावी प्रचारको मोडल बनाएको छ। यो मोडल सन् २०१४ को चुनावका बेला समेत देखिएको थियो।’मोदीको यो नेपाल भ्रमण नेपालका लागि नौलो हुन सक्छ। तर, मोदीका लागि एउटा अस्त्र हो। उनले यो चुनावी अस्त्र यसअघि पनि प्रयोग गरेका थिए। ७ अप्रिल २०१४ को असम र त्रिपुराको लोकसभाका ६ वटा सिटमा मतदान चलिरहेको थियो। त्यति नै बेला भारतीय जनता पार्टी (भाजपा)को चुनावी घोषणापत्र जारी गर्ने कार्यक्रमको सीधा प्रसारण टेलिभिजनका समाचारहरुमा भइरहेको थियो।
टिभी च्यानलमा प्रत्यक्ष प्रसारणका साथमा घोषणापत्रका मुख्य बुँदा र प्रतिवद्धताहरुलाई ब्रेकिङ न्यूजको रुपमा देखाइँदै थियो। त्यस्तै प्रतिवद्धता जनकपुरबाट मोदीले गरे भारतीय टेलिभिजनहरुले प्रत्यक्ष प्रसारण गरे।
उनले जानकी मन्दिर, मुक्तिनाथ मन्दिर र पशुपति दर्शन गरेका दृश्यहरु भारतीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरे। नेपालमा निर्वाचन अगाडि मौन अवधि भएजस्तै भारतमा पनि त्यही चलिरहेको बेला भारतीय टेलिभिजनका समाचारहरु मोदीमय भए। यसलाई रोक्न भारतको चुनाव आयोगसँग कुनै अस्त्र देखिँदैन।
कर्नाटकमा भारतीय जनता पार्टीमाथि हिन्दुत्वलाई लिएर आक्रमक प्रचार गरेको आरोप लागेको छ। उत्तर प्रदेशको विधानसभाको पछिल्लो चुनावमा ८ मार्च २०१७ को अन्तिम चरणको मतदानको समय प्रधानमन्त्री गुजरातको सोमनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए।
प्रधानमन्त्रीको देशका कुनै पनि क्षेत्रको मतदानको निकट समय मन्दिरहरुको यात्रामा निस्किन सक्ने रोचक अध्ययन गर्न सकिने बीबीसीको टिप्पणीमा उल्लेख छ।
त्यस्तै एक अर्को प्रचारात्मक रणनीति त्यतिबेला देखिन्छ जब २४ अप्रिलमा ११७ संसदीय क्षेत्रमा मदतान हुँदै थियो। त्यही दिन नरेन्द्र मोदीले वनारस क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गर्ने योजना बनाए। त्यतिबेला पनि भारतीय टेलिभिजनहरु मोदीमय भएका थिए।
त्यस्तै हाल कर्नाटकमा मतदान चलिरहेका बेला भारतका अधिकांश टेलिभिजनमा मोदीका मन्दिर दर्शनका समाचार छन्। भने आज शनिबार मतदानका दिन प्रकाशित अधिकांश समाचारका पहिलो पृष्ठ समेत मोदीमय बनेका छन्। यसलाई लिएर भारतीय कंग्रेसले निर्वाचनलाई प्रभावित गर्ने मोदीको अस्त्र भएको आरोप समेत लगाएको छ।