PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओली र मोदीको 'जनकपुर ड्रेस' मैथिली हैन : मिथिला संस्कृतिका जानकार



बीपी साह

ओली र मोदीको 'जनकपुर ड्रेस' मैथिली हैन : मिथिला संस्कृतिका जानकार

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार जनकपुरधाममा एउटै पोशाकमा देखिए।

दुबै जनाको कुर्ता, पैजामा र टोपी पनि एकै किसिमको थियो। केहीले उक्त पहिरनलाई मैथिली पहिरन दावी गरेका छन्। के यो मैथिली पोशाक नै हो त?

शनिबारको नयाँ पत्रिकामा एमाले नेता राजन भट्टराईलाई उद्‍धृत गर्दै मोदीले लगाएको पोसाक मैथिली पोशाक भएको र काठमाडौँमा सिलाएर प्रधानमन्त्री ओलीले पठाइदिएको दावी गरेका थिए। 

तर मिथिला संस्कृतिका जानकार एवं त्रिभुवन विश्वविद्यालय मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापडीले प्रधानमन्त्री मोदी र ओलीले लगाएको पोशाक मिथिलाको नभएको बताए।

‘मिथिलामा पुरुषका लागि तोकिएको कुनै औपचारिक पहिरन छैन। तर पनि अधिकांश कार्यमा धोती प्रयोग हुन्छ। त्यसकारण मिथिलाको पुरुषको पोशाक धोती बनेको छ,’ कापडीले पहिलोपोस्टसँग भने,‘वैदिक कालमा पनि मिथिलाको पुरुषको पोसाकको चर्चा छैन तर धोति चाहिँ प्रयोग हुँदै आएको छ।’ 

मिथिलामा भगवानको तस्बिरहरुमा पनि धोती र गम्छाबाहेक अन्य पहिरन नहुने गरेको उनले बताए।

शुक्रबार जनकपुरधाममा मोदी र ओलीले लगाएको मिथिलाको पोशाक हो कि होइन भन्ने प्रश्नमा कापडीले भने,‘त्यो मिथिलाको पोशाक होइन। मिथिलाको आसपासको पनि होइन। नेपालको संस्कृति अथवा मिथिला संस्कृति नजिकको पनि होइन।’ 

मोदीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाली ढाका टोपी खोलेर गुलाबी रंगको टोपी लगाए। त्यस्तै टोपी मोदीलाई पनि जानकी मन्दिरका महन्थले लगाइदिएका थिए। 

टोपीबारे कापडी भन्छन्,‘त्यो टोपी मुरेठा(पगरी)को परिस्किृत रुप हो। त्यो मिथिलाको होइन, नेपालको पनि होइन। मिथिलामा अहिले गम्छाको पगडी लगाइने चलन छ। गम्छा मिथिलावासी जनजीवनसँग जोडिएको हो।’

कापडीले उक्त टोपी भारतीयहरुले विवाह तथा विशेष कार्यक्रममा प्रयोग गर्नेतर्फ इंगित गरे।

यसैगरी मैथिली संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षिले पनि जनकपुरधाममा मोदी र ओलीले लगाएको पोशाक मिथिला संस्कृतिको नभएको बताए।

प्रेमर्षिले ओली र मोदीले लगाएको टोपी मारवाडी समुदायको रहेको बताए। उनले मधेशमा पनि केही वैश्य समूदायका व्यक्तिहरुले विहेबारीमा लगाउने गरेको जानकारी दिए।

मोदी र ओलीले लगाएको कुर्ता र चुरीदार पैजामा मिथिला संस्कृतिको नभएको उनको पनि दाबी थियो।

उनले भने,‘मिथिलाको पोशाक निर्धारण गर्ने निकाय को हो? नेपालबाट मिथिलासम्बन्धी केही सामान मोदीलाई जान्छ भने त्यो प्रदेश २ को सरकारले पठाउने छ। तर प्रदेश २ को सरकारलाई यसबारे नै जानकारी छैन।’

प्रेमर्षिले भने,‘मोदीले जनकपुरधाम आउँदा लगाएको ड्रेस अन्य ठाउँको भ्रमणमा पनि लगाएका छन्। यस्तै पोसाकमा उनी कयौं पटक देखिएका छन्। त्यसकारण यो पोसाक मिथिलाको होइन, भारतकै हुन सक्छ।’

त्यसैगरी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि मिथिलाको पोशाक नलागेको बताएका छन्। पहिलोपोस्टको समाचारमा ट्विट गर्दै उनले लेखेका छन्- 'त्यो मुरेठा वा टोपी त सम्भवतः महन्थ पदको पदस्थापन गर्दा लगाईदिने श्रीपेच सरहको पगड़ी हो कि?'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell