PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

अर्थमन्त्री खतिवडालाई प्रदेश २ का सांसदहरुको दबाब: 'मधेशमा योजना थप्नुपर्‍यो'



पहिलोपोस्ट

अर्थमन्त्री खतिवडालाई प्रदेश २ का सांसदहरुको दबाब: 'मधेशमा योजना थप्नुपर्‍यो'

काठमाडौं: अर्थमन्त्री युवराज खतिवडालाई प्रदेश दुईबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले बजेटमा मधेशका विषयमा योजना थप्न दबाब दिएका छन्।

सांसदहरुले अर्थमन्त्री खतिवडालाई उनकै निवासमा भेटी बजेटमा मधेशका विषयहरुलाई वास्ता नगरिएको भन्दै मधेशसँग सरोकारका विषय थप्न दबाब दिएका हुन्।

‘यस पटकको बजेटमा पहाडमा मात्रै चार लेन रोड बनाउने योजना रहेको जानकारी पाएका थियौं। हामीले चार लेन सडक दुई नम्बर प्रदेशमा पनि विस्तार गर्ने योजना राख्न आग्रह गर्यौं।’ 

संघीय समाजवादी फोरम नेपालका प्रतिनिधि सभा सदस्य प्रदिप यादवले पहिलोपोस्टलाई भने,‘प्रदेश दुईमा सरकारी मेडिकल कलेज खोल्ने चर्चा चलेपनि अहिलेसम्म केही भएको छैन। त्यसकारण यसै बजेटमा उक्त योजना समावेश गर्न हामीले दबाब दियौं।’

वीरगञ्ज शहरबाहिर एउटा पनि पिच बाटो नरहेको भन्दै पिच बाटो विस्तार गर्न उनले आग्रह गरेको बताए।

यसैगरी सांसदहरुले प्रदेश दुईको सरकारले अगाडि बढाएको बेटी पढाउ अभियानलाई सहयोग पुग्ने खालेको योजना पनि राख्न माग गरेका थिए।

विकासको दृष्टिकोणले प्रदेश २ सबभन्दा पिछडिएको भन्दै विकासका योजनाहरु समावेश गर्न सांसदहरुले आग्रह गरेका थिए।

फोरम नेपालसहित, एमाले, नेपाली कांग्रेस र माओवादीसहितका दश जना सांसदहरुले अर्थमन्त्री भेट्न पुगेका थिए। टोलीमा पूर्वमन्त्री प्रभु साह, माओवादीका सांसद रामेश्वर राय यादव, इन्दु शर्मा र कांग्रेसका टिएल चौधरीलगायतका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell