PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

देशको अर्थतन्त्र माफिया र तस्करको हातमा : गृहमन्त्री थापा



नरहरि पौड्याल

देशको अर्थतन्त्र माफिया र तस्करको हातमा : गृहमन्त्री थापा

पोखरा: गृहमन्त्री रामबहादुर थापाले मुलुकको अर्थतन्त्र माफिया, ठेकेदार र तस्करहरुको हातमा रहेको दाबी गरेका छन्।। गृहमन्त्री थापाले अर्थतन्त्रलाई बलियो बनाउन माफिया, ठेकेदार, तस्कर र  कालाबजारीयाको अन्त्य गर्न आवश्यक रहेको बताए।

प्रेस सेन्टर कास्कीले पोखरामा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिको लागि सुशासन, शान्ति र स्थायित्व आवश्यक रहेको हुँदा यस दिशामा सरकार लागी परेको बताए। 

उनले आर्थिक क्षेत्रमा अनियमिता, तस्करी, कालो बजारीले सुशासन, विकास, समृद्धि र शान्ति सुरक्षा कमजोर पारेको जिकीर गरे। देशमा केही मुठीभरका लुटेराहरुको वर्चश्व रहेको भन्दै उनीहरुको गलत हर्कतका कारण मुलुकको आर्थिक समृद्धिको बाधक व्यवधान श्रृजना भएको आरोप लगाए।

हरेक क्षेत्रमा कायम रहेको एकाधिकार (सिन्डकेट) नतोडी समृद्धि सम्भव नभएको उनको भनाई थियो। 'सबै क्षेत्रमा एकाधिकार र कालोबजारीया छ,’ थापाले भने, ‘त्यसको अन्त्यविना विकास सम्भव छैन। त्यसको अन्यकै लागि अहिलेको सरकार क्रियाशिल छ।’

उनले मुलुकको पछौटेपनका कारण लाखौ युवायुवती विदेशिन बाध्य भएको र हजारौं लागुऔषधको कुतलमा फसेर युवा जनशक्ति खेर गएको भन्दै लागुऔषध कारोबार नियन्त्रण गर्ने सरकारको योजना रहेको बताए।

‘तीनै तहको निर्वाचन सम्पन्न भइसकेपछि अब देशलाई जतिसक्दो समृद्धि र विकास तर्फ उठाउनु पर्छ,’ गृहमन्त्री थापाले भने, ‘विकास र समृद्धिलाई लक्षित गरेर नै छिमेकी राष्ट्रसँग सम्बन्ध सुमधुर बनाउने प्रक्रियामा सरकार लागेको छ।’

स्थायी सरकार र देश समृद्धिको बाटोमा हिँडिरहेका बेला हिंसा भड्काउने कसैलाई पनि नछोड्न उनले बताए। राजनीतिक, जातिय, क्षेत्रिय, धार्मिक आवरणमा हिंसा भड्काउने समूहलाई नियन्त्रण गर्ने, निस्तेज पार्ने उनले बताए। ‘नेपाल बन्दलगायत ध्वंसात्मक काम गर्ने, संविधान र कानुन विपरीत काम काम गर्नेलाई निस्तेज पार्ने कठोर कदम चाल्ने छौ,’ विप्लव माओवादीप्रति संकेत गर्दै उनले भने, ‘कठोरतापूर्वका संविधान र कानुनको दायरामा ल्याउने छौं।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला उठेको स्वतन्त्र मधेzको ब्यानर देखिएकोप्रति संकेत गर्दै थापाले अलग देश र विखन्डन गर्ने कसैलाई छुट सविधानमा नभएको बताए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमण गरी फर्किेसकेको बताउदै नेपालका प्रधानमन्त्री पनि छिट्टै चीनको भ्रमणमा जाने जानकारी उनले दिए। सरकारले छिमेकी राष्ट्रबीच आपसी सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

गृहमन्त्री थापाले विकास, शान्ति सुरक्षा र महिला सुरक्षामा बाधा पुर्‍याउने गुन्डाहरुको लिस्ट तयार भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell