PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

लालबाबु राउतको भनाइमा सत्तारुढ दलकै सांसदको समर्थन?



बीपी साह

लालबाबु राउतको भनाइमा सत्तारुढ दलकै सांसदको समर्थन?

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा सत्तारुढ वाम गठबन्धन नै विभाजित भएको छ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सोही पार्टीका नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका एमाले नेताहरुले मुख्यमन्त्री राउतको अभिव्यक्तिका विरुद्ध प्रतिक्रिया दिइरहेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनकाा क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान र नेपाल सरकारको नीति विरुद्ध बोलेका थिए। उनले संविधान विभेदकारी भएको सार्वजनिक अभिव्यक्ति अभिनन्दनकै क्रममा दिएका थिए। उनले राज्यको विभेदका कारण मधेश पिछडिएको बताउँदै मुख्यमन्त्री भनेका थिए, ‘राज्यद्वारा मधेशीप्रति गरिएको पूर्वाग्रह एवं विद्वेकषपूर्ण मानसिकताका कारण मधेशका जनता तुलनात्मक रुपमा अत्याधिक गरीब, बेरोजगार, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जिउन बाध्य छन्।’

तर, सत्ता गठबन्धनकै नेकपा माओवादी (केन्द्र)का मन्त्रीहरु यस विषयमा मौन देखिएका छन्।

माओवादी सचिवालय सदस्य रामकुमार शर्माले मुख्यमन्त्री राउतको भनाई ‘नयाँ कुरा नभएको’ बताए। उनले अहिले पनि मधेशमा राज्यद्वारा विभेद कायमै रहेको र सोही विभेदबारे मुख्यमन्त्रीले बोलेको बताए।

‘एमालेले मुख्यमन्त्री राउतलाई विवादमा तानेर उनकै लोकप्रियता बढाउँदैछ,’ शर्माले पहिलोपोस्टलाई भने, ‘राउतजीको विषयमा विवाद गरेर समय फाल्नु उपयुक्त होइन। केहीले उनको राजीनामा मागेको सुनेँ। त्यो वाइह्यात हो।’

माओवादीका सांसद रामेश्वर राय यादवले भने, ‘संविधान संशोधन गर्छु भनेर एमालेले पनि स्वीकार गरेको कुरा हो। त्यही कुरा मुख्यमन्त्रीले पनि उठाएर कुनै अपराध गरेनन्।’

‘मधेशी दलको अडान नै हो- संविधान संशोधन। त्यही अडान राउतजीले दोहर्याउनु भयो,’ पहिलोपोस्टसँग यादवले भने, ‘त्यो विषय त्यहाँ उठाउने कि नउठाउने भन्ने विषयमा बहस गर्न सकिन्छ। तर, त्यहाँ उठाइएका कुरा नयाँ होइन, त्यो सब कुरा मोदीजीलाई पनि थाहा छ। अब यस विषयमा एमालेले विवाद झिक्नु उचित होइन।’

सचिवालय सदस्य शर्माले प्रदेश २ को सरकारलाई एमालेले पनि समर्थन गरेकाले त्यति धेरै बखेडा झिक्न नहुने तर्क गरे।

आफैले समर्थन गरेको मुख्यमन्त्रीका विषयमा अन्यथा बोल्नु राम्रो नभएको शर्माले बताए। 

‘मधेशीको माग मोदीलाई पनि थाहा छ। ओलीजीलाई पनि थाहा छ,’ शर्माले भने, ‘प्रदेश २ माथि जति आलोचना हुन्छ, मधेशीहरु त्यति एमालेप्रति आक्रमक हुनेछन्।’

हिजोमात्रै संघीय संसदमा सत्तारुढ दलका नेताहरु तथा प्रतिपक्षी दलका नेताले समेत राउतको अभिव्यक्तिमाथि प्रश्न गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell