PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एमाले-माओवादी एकतासँगै ९ सदस्यीय सचिवालय गठन हुने



विधुर ढकाल

एमाले-माओवादी एकतासँगै ९ सदस्यीय सचिवालय गठन हुने

काठमाडौं : पार्टी एकतासँगै ९ सदस्यीय सचिवालय गठन गर्ने वाम एकता संयोजन समितिको बैठकले निर्णय गरेको छ। ‘एकतासँगै ९ जना सदस्य रहने गरी सचिवालय गठन गर्ने निर्णय भएको छ,’ समितिको बैठकपछि एमाले महासचिव ईश्वर पोखरेलले बताए।

केही समयअघिमात्रै सम्पन्न एकता संयोजन समितिको बैठकले पार्टी एकता, एकताको प्रारुप, संगठनको स्वरुप लगायतका विषयमा भएको निर्णयलाई अनुमोदन गरेको छ। 

एकीकृत पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुने सहमति भएको थियो। सहमति अनुसार २ सय सदस्य माओवादीको भागमा र २ सय ४१ सदस्य एमालेको भागमा पर्ने गरी सहमति भएको थियो। त्यसैलाई आज दुई पार्टीको शीर्ष तहमा रहेको एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको हो। अनुमोदन भएअनुसार पार्टीको स्थायी कमिटीमा ४३ सदस्य रहने छन्। २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहने निर्णय हिजो भएको थियो। 

समितिले गरेको अनुमोदनलाई बालुवाटारमा सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउँदैछन्। समितिको बैठकमा सहभागी भएका माओवादी नेताहरु भने बालुवाटारबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारतिर लागेका छन्। अध्यक्ष प्रचण्ड निवासमा माओवादी केन्द्रको बैठक बस्दैछ। त्यहाँ भएका सहमति र अनुमोदनलाई प्रचण्डले ब्रिफ गर्न कार्यक्रम छ। 

समितिको बैठकमा अनुमोदन गरेका कुरा दुवै पार्टीको केन्द्रीय कमिटीमा निर्णय गराउने जानकारी गराउने निर्णय भएको हो। त्यसपछि बस्ने संयुक्त केन्द्रीय कमिटीले समितिले अनुमोदन गरेको विषयलाई निर्णयार्थ पेश गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell