PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

कर्णाली प्रिमियर लिग : टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात



पहिलोपोस्ट

कर्णाली प्रिमियर लिग : टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

काठमाडौं : आजदेखि सुर्खेतमा सुरु भएको कर्णाली प्रिमियर लिग (केपीएल) टि-२० क्रिकेट प्रतियोगितामा टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीले जित दर्ता गरेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा टिकापुर क्रिकेट क्लबले भेरीगङ्गा क्रिकेट क्लबलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको टिकापुरले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। उसका ओपनर अजय बिस्टले १२ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतमा ३४ रन बनाए। यस्तै अयुब चन्दले १९ र रवि शाहले १७ रन जोडे। बलिङमा भेरीगङ्गाका तिलक थापा, महेन्द्र बिके र विजय बिकेले २/२ विकेट लिए।

जवाफमा १४५ रनको लक्ष्य पछ्याएको भेरीगङ्गाले ११.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३५ रन बनाउन सक्यो। उसका लोकेन्द्र बिकेले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडी गोल्डेन डकको सिकार भए। भेरीगङ्गालाई सस्तैमा समेट्न टिकापुरका रवि शाह र अनिल बिकेले ३=३ विकेट लिए। दुवैले समान १० रन खर्चे। यस्तै ललित प्याक्वल र अजय विष्टले समान २ विकेट लिए।

३४ रन बनाउनुका साथै २ विकेट लिएका अजय म्यान अफ द म्याच घोषित भए।

यस्तै दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले मध्यपश्चिमान्चल क्रिकेट क्लबलाई ४६ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरममा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो। बिपिन रावलले २६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। त्यस्तै तल्लोक्रका बसन्त सिंह कार्कीले १२ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा नटआउट ३२ रन बनाए। बलिङतर्फ मध्यपश्चिमान्चलका भारत थापाले ३ विकेट लिए।

जवाफमा मध्यपश्चिमान्चल क्रिकेट क्लबले सुबेन्दु पाण्डेको अर्धशतकका बाबजुत निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ११० रनमात्र बनाउन सक्यो। सुबेन्दु पाण्डेले ४० बलमा ६ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए। यस्तै राजबिर सिंहले १५, प्रनित थापाले १३ र सिद्धान्त राज शाहीले १२ रन बनाए। धनगढीका बिक्रम ठगुन्नाले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।

 

भोलिहुने खेलहरु:

पहिलो खेल: रुपन्देही ११ Vs भेरीगङ्गा स्पोर्ट्स क्लब, बिहान ७ बजे

दोश्रो खेल: रोयल राइजिंग क्रिकेट क्लब Vs धनगढी क्रिकेट एकेडेमी, बिहान १०:३० बजे

तेस्रो खेल: महाकाली क्रिकेट क्लब Vs टिकापुर क्रिकेट क्लब, दिउसो २ बजे

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell