PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

पुलिसलाई हराउँदै आर्मीले जित्यो उपाधि



रासस

पुलिसलाई हराउँदै आर्मीले जित्यो उपाधि

इटहरी : विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो राष्ट्रिय इटहरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

किसान बचत तथा ऋण सहकारीको सहकार्यमा सेभेन स्टार क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको बिहीवार भएको फाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

आर्मीले उपाधिसँगै नगद ७५ हजार हात पारेको छ। उपविजेतामा चित्त बुझाएको पुलिसले ४० हजार प्राप्त गर्‍यो।

इटहरीस्थित नेपाल डिभिएम स्कूलको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो। पुलिसका लागि रोशन भुजेलले नटआउट २९ रन बनाउँदा कुशल भुर्तेलले २५, प्रेम तामाङले १८ र योगेन्द्र कार्कीले १६ रनको योगफल बनाएका थिए। बलिङतर्फ आर्मीका हरिकृष्ण झाले तीन, साहब आलमले दुई र जीतेन्द्र मुखियाले एक विकेट लिएका थिए।

जवाफमा १२१ रनको विजयी लक्ष्य पछ्याउँदै नेपाल आर्मीले १७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो। आर्मीका लागि अनिल मण्डलले नटआउट ५२ रन जोड्दा महेश क्षत्रीले ३२, विनोद भण्डारीले २० र राहुल विश्वकर्माले ११ रनको योगदान गरे।

प्रतियोगिताको उत्कृष्ट बलर पुलिसका मञ्जित श्रेष्ठ र उत्कृष्ट ब्याट्सम्यान मेची क्रिकेट एकेडेमी झापाका अंकित सुवेदी घोषित भए। दुवैले ५-५ हजार प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell