PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेकपाको संसदीय शक्तिः केन्द्रमा सहज बहुमत, पाँचवटा प्रदेशमा दुई तिहाइ



पहिलोपोस्ट

नेकपाको संसदीय शक्तिः केन्द्रमा सहज बहुमत, पाँचवटा प्रदेशमा दुई तिहाइ

काठमाडौँः नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय अभ्यासमा पनि शक्तिशाली रूपमा उदाएको छ। गठबन्धनका रूपमा संसदीय राजनीतिमा बलियो उपस्थिति जनाएका दुई दल एक भएपछि संसदीय अभ्यासमा थप सशक्त बनेका छन्।

नेकपाको संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दुई तिहाइ नजिक छ। १० सिटले दुई तिहाइभन्दा पछि छ। माथिल्लो सदन राष्ट्रियसभामा भने स्पष्ट दुई तिहाइ छ। ५९ सदस्यमा ४२ सदस्य नेकपाका छन्। प्रतिनिधिसभामा २७५ मध्ये १७४ सदस्य नेकपामा छन्। संघीय संसद्को दुबै सदनको कूल ३३४ सदस्यमध्ये नेकपामा २१६ सदस्य छन्। 


पाँच प्रदेशमा दुई तिहाइ

सातमध्ये ६ वटा प्रदेशमा सरकार बनाएका तत्कालीन गठबन्धनको एकीकरणपछि पाँचवटा प्रदेशमा स्पष्ट दुई तिहाइ छ। प्रदेश २ र ४ बाहेक अन्य प्रदेशमा नेकपाको दुई तिहाइ छ। प्रदेश २ मा बहुमत पुर्‍याउन नसकेको नेकपाको प्रदेश ४ मा सहज बहुमत छ। सातमध्ये ६ वटा प्रदेशमा नेकपाले सहज रूपमा सरकार सञ्चालनको अङ्कगणित छ। 

प्रदेश १ मा तत्कालीन एमालेकै सहज बुहमत थियो। दुबै दल एकीकृत भएपछि नेकपाका ६७ सदस्य भएका छन्। ९३ सदस्यीय सदनमा नेकपाको दुई तिहाइ पुगेको छ। दुई तिहाइका लागि ६२ सदस्य आवश्यक पर्छ। 

१०७ सदस्यीय प्रदेश २ को प्रदेशसभामा भने नेकपाको ३२ मात्र सदस्य छन्। सामान्य बहुमतभन्दा पनि नेकपा निकै पछि छ। 

प्रदेश ३ मा स्पष्ट दुई तिहाइ नेकपाले पाएको छ। ११० सदस्यीय प्रदेशसभामा यसअघि एमालेको मात्रै बहुमत थियो। माओवादीसँग एकीकृत भएपछि नेकपाका ८१ सदस्य पुगेका छन्। प्रदेश ३ मा दुई तिहाइका लागि ७४ सदस्य आवश्यक पर्छ। 

यस्तै, प्रदेश ४ मा भने नेकपाको बहुमतमात्र रहन्छ। ६० सदस्यीय प्रदेशसभामा नेकपामा ३२ सदस्य रहनेछन्। सरकार गठनको सामान्य बहुमत पुगे पनि दुई तिहाइ भने पुग्दैन। 

प्रदेश ५ मा भने नेकपाको दुई तिहाइ रहनेछ। ८७ सदस्यीय प्रदेशसभामा ६१ सदस्य नेकपाका रहनेछन्। दुई तिहाइका लागि ५९ सदस्य भए पुग्नेछ। 

कर्णाली प्रदेशमा स्पष्ट दुई तिहाइ नेकपासँग रहनेछ। सबैभन्दा सानो ४० सदस्यीय प्रदेशसभामा नेकपाका ३३ सदस्य रहनेछन्। दुई तिहाइका लागि २७ सदस्य आवश्यक पर्नेछ। 

प्रदेश ७ मा पनि नेकपा सुविधाजनक दुई तिहाइमा छ। ५३ सदस्यीय सभामा ३९ सदस्य नेकपाका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell