PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

दुई पार्टीबीच एकता, झलनाथ खनाल चै खै कता?



पहिलोपोस्ट

दुई पार्टीबीच एकता, झलनाथ खनाल चै खै कता?
माओवादी केन्द्रका प्रदेशसभा सदस्य विशाल खड्काले फेसबुकमा खनालसँगको फोटो चीनबाट अपलोड गरेका हुन्।

काठमाडौँ कम्युनिष्ट पार्टीका लागि बिहीवार ऐतिहासिक दिन रह्यो। लामो समयदेखि राजनीतिको मुलधारमा रहेका ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र एकाकार भए। बिहानैदेखि दुवै पार्टीका नेताहरुलाई भ्याइनभ्याइ थियो।

दुवै पार्टीका वरिष्ठदेखि कनिष्ठ नेता र कार्यकर्तासमेत प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित थिए। त्यो भिडमा नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल कतै देखिएनन्।

नेता खनाल बालुवाटरमा त देखिएनन् देखिएनन्, सभागृहमा समेत थिएनन्। धेरैले नजर घुमाए, नेता खनाल कतै छन् कि? आखिर किन देखिएनन् त?

खासमा, खनाल केही दिन अघि चीन गएका थिए। यता पार्टी एकीकरणको तयारी तीब्र अगाडि बढिरहँदा उनी भने त्यसबारे धेरै जानकार थिएनन्, सायद। दुई पार्टी साझा घोषणापत्रबाट चुनावमा जाने यसअघिको ऐतिहासिक निर्णय हुँदा पनि उनी वेखबर थिए, भलै अन्तिममा उनी मञ्चमा उपस्थित रहे।

बिहीबार खनाल चीनमा थिए। माओवादी केन्द्रका प्रदेशसभा सदस्य विशाल खड्काले फेसबुकमा खनालसँगको फोटो चीनबाट अपलोड गरेका छन्।

खड्काले खनालसँगको भेट संयोग भन्दै बालुवाटारमा ओली र प्रचण्डले वृक्षारोपण गरेको फोटो पनि सँगै पोस्ट गरेका छन्।

निजी भ्रमणमा चीनतिर रहे पनि खनाल नयाँ गठित नेपाल कम्युनिस्ट पार्टीका ९ जना शीर्षस्थमा परेका छन्। पार्टीको हाइ कमाण्डमा उनको उपस्थिति छ। केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालपछिका नेताका रुपमा उनी सचिवालयमा रहने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell