
- पूर्णबहादुर खड्का-
सुर्खेत : पछिल्लो समय क्रिकेटको माहोल तातिरहेका बेला कर्णाली प्रदेशमा पनि यस खेलप्रतिको मोह बढेको छ। देश संघीय संरचनामा गएलगत्तै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ यस प्रदेश पनि अघि बढिरहेको हो। क्रिकेट चर्चाले कर्णालीका नागरिक हौसिएका पनि छन्।
संघीय संरचना पछि कर्णालीमा जिल्ला र प्रदेश स्तरीय गरी तीन वटा प्रतियोगिता सम्पन्न भइसकेको छ भने, राष्ट्रियस्तरको प्रतियोगिता सुरु भएको छ।
बुधवारदेखि प्रदेशकै पहिलो कर्णाली प्रिमियर लिग (केपीएल) राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो। बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले रुस्लान केपीएल–१, टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो। जसमा अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका खेलाडीसमेत सहभागी छन्।
प्रतियोगिता जेठ १२ गतेसम्म वीरेन्द्रनगरको रगंशालाको कालिङ्गचोक क्रिकेट मैदानमा जारी रहनेछ। क्रिकेट मैदानलाई झकिझकाउ बनाएर प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख दुर्गाकेशर खनाल र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले संयुक्त रुपमा उद्घाटन गरे।
प्रतियोगिताको पहिलो दिन खेल हेर्न दर्शक भरिभराउ थिए। वृद्ध, महिलादेखि युवासम्मले मैदानमै पुगेर क्रिकेटको मज्जा लिए।
प्रतियोगितामा देशका चर्चित विभिन्न स्थानका १० वटा राष्ट्रिय टिमहरुको सहभागिता छ। जसमा शक्ति गौचनको रुपन्देही-११, धनगढी क्रिकेट एकेडेमी, महाकालीको कन्चनपुर क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट एकेडेमी, काठमाडौं ट्रेनिङ सेन्टर, मदन भन्डारी स्पोर्ट्स एकेडमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब, भेरिगङ्गा स्पोर्ट्स क्लबको सहभागिता छ।
प्रतियोगिताको विजेताले पदकसहित तीन लाख र उप–विजेताले एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ।
यस्तो प्रत्येक खेलमा म्यान अफ त म्याचलाई दुई हजार पाँच सय र ट्रफी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई १०-१० हजार रुपैयाँ प्रदान गर्ने आयोजकको भनाई छ। यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद २५ हजार रुपैयाँसहित पदक प्रदान गरिने छ।
प्रदेशस्तरीय क्रिकेट
गत फागुनको महिना १९ देखि २६ गतेसम्म कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता आयोजना भएको थियो। सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएसँगै श्रीधर केसीले उक्त प्रतियोगिता आयोजना गरेका थिए। प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्ला दैलेख, जाजरकोट, जुम्ला र रुकुमबाट समेत खेलाडीहरु सहभागी थिए।अध्यक्ष केसीले निर्वाचित भएपछि भनेका थिए- ‘अब सुर्खेतले क्रिकेटमा प्रदेशको समग्र नेतृत्व गर्छ।’ यसैलाई आधार मानेर क्रिकेट संघ योजना बनाएर कार्यान्वयनमा तल्लिन बनेको छ। केपीएलको पहिलो दिनमा युवा लगायत सबै नागरिकको ठूलो संख्यामा उपस्थिति थियो।
‘सुर्खेतमा क्रिकेटको प्रतिको मोह बढ्दै गएको छ,’ क्रिकेट संघका अध्यक्ष केसीले भने,‘पहिलो दिनमै ३ हजार बढि दर्शकको सहभागिताले खुशी छु।’ अब कर्णालीमा क्रिकेटको विकासको गति बढ्ने विश्वास व्यक्त गरे। बालबालिका र युवाहरुको यो आकर्षणले क्रिकेटको विकास थप गर्नुपर्ने उनी बताउँछन्।
शक्ति गौचन सहितको टोली सुर्खेतमा
क्रिकेट खेलका हस्ती शक्ति गौचन सहितको टोली पनि सुर्खेतमा छ। शक्ति कप्तानीमा रुपन्देही-११ ले प्रतियोगिता खेल्दैछ।प्रतियोगीतामा मदन भन्डारी स्पोर्ट्स एकेडमीको कप्तानमा रुपेस श्रीवास्तब, रोयल राइजिङ क्रिकेट क्लबको कप्तानमा विवश गिरी, मध्यपश्चिम क्रिकेट क्लबको कप्तानमा सुवेन्दु पान्डे, त्रिभुवन आर्मी क्लबको कप्तानमा विनोद भन्डारी, महाकाली क्रिकेट क्लबको कप्तानमा प्रदीप ऐरी, भेरिगङ्गा स्पोर्ट्स क्लबको कप्तानमा लोकेन्द्र बिक, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको कप्तानमा सन्जय बस्नेत, एबीसी क्लबको कप्तानमा रबिन्द्र शाही तथा धनगढी क्रिकेट एकेडमीको कप्तानमा भुवन कार्की रहेका छन्।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी, टीकापुर, रुपन्देही, भेरीगंगा र महाकाली छन् भने समूह ‘बी’ मा काठमाडौं, मध्यपश्चिम, रोयल राइजिङ, एबीसी र धनगढी छन्।
मैदान अभाव
पछिल्लो समय कर्णाली प्रदेशमा क्रिकेट क्रेज बढे पनि खेल मैदानको अभाव छ। २/३ महिनाको अन्तरमा हुने जिल्लास्तरीय र प्रदेशस्तरीय प्रतियोगितामा ओचकोच गरी खेल्नुपर्ने बाध्यता छ। अहिले प्रदेशकै राजधानी सुर्खेतमा समेत पर्याप्त खेल मैदान समेत छैन। अहिले प्राय क्रिकेट कालुञ्चौक मैदानमा खेलिँदै आएको छ।बुधवारबाट सुरु भएको केपीएल प्रतियोगिता भने रगंशालामा जारी छ। खेल मैदानकै कारणले क्रिकेट खेलाडीहरु साँघुरिनु परेको संघका अध्यक्ष केसी बताउँछन्। ‘खेल्दै र खेलाउँदै आएको कालुञ्चौक मैदान सानो छ,’ उनले भने, ‘अब क्रिकेट विकासका लागि आवश्यक मैदान बनाउन जरुरी छ।’ अहिले खेल मैदान अभावले नै खेलाडी अभ्यास र प्रशिक्षण समेत पाउन नसकेको उनी बताउँछन्।
अन्तर्राष्ट्रिय खेल मैदान बन्छ : रावल
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अबको दुई वर्षमा अन्तर्राष्ट्रिय खेल मैदान बनाउने योजनाका साथ अघि बढेको बताए।‘कर्णालीमा पर्याप्त खेल मैदान छैन, अब हामी अन्तर्राष्ट्रिय खेल मैदान बनाउनेतर्फ अघि बढिरहेका छौँ,’ उनले भने, ‘त्यसका लागि प्रदेश सरकारले यसै आर्थिक वर्षको बजेटमा डिपिआरका लागि बजेट विनियोजन गरिएको छ।’
प्रदेशमा सके अन्तर्राष्ट्रिय नसके राष्ट्रियस्तरको खेल मैदान बनाउने गरी प्रदेश सरकार अघि बढेको उनले बताए।