PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

संसदमा प्रश्न : बाबु नेपाली, सन्तान चाहिँ कुन देशको?



पहिलोपोस्ट

संसदमा प्रश्न : बाबु नेपाली, सन्तान चाहिँ कुन देशको?

काठमाडौं : जन्मका आधारमा नागरिकता पाएका नेपालीका सन्तानले नागरिकता पाउन नसकेको भन्दै संसदमा सरकारको आलोचना भएको छ।

जन्मका आधारमा २०६३ सालमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई हालसम्म नागरिकता प्रदान गरिएको छैन। जन्मका आधारमा नागरिकता पाएका नागरिकबाट जन्मिएकाले स्वत: वंशजको नागरिकता पाउनुपर्ने हुन्छ। तर १२ वर्ष बित्नै लाग्दासमेत नागरिकता दिइएको छैन। 

आज बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका सांसदहरुले जन्मसिद्ध नागरिकता पाएका नागरिकको सन्तानलाई तत्काल नागरिकता उपलब्ध गराउन सरकारसँग माग गरेको हो।

‘जन्मका आधारमा २०६३ सालमा नागरिकता पाएकाहरुका सन्तानले अहिलेसम्म नागरिकता पाएका छैनन्। त्यसबेलाको नागरिकता सही हो भने तिनका सन्तानलाई किन नागरिकता दिइँदैन?,’ राजपाका सांसद प्रमोद साहले भने,‘बुबा चाहिँ यस देशको अनि सन्तान चाहिँ कुन देशको?’

सचिवस्तरीय बैठकबाट नागरिकता दिने कार्य रोकिएको उनले बताए।

यसैगरी फोरम नेपालका सांसद प्रदीप यादवले संविधान जारी भएको तीन वर्ष हुनैलाग्दा पनि संविधानको अनुभूति जनताले पाउन नसकेको भन्दै गुनासो पोखे।

संविधानले सबै नागरिकलाई नागरिकता दिने व्यवस्था गरे पनि जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन नसकेको भन्दै विरोध जनाए।

‘जन्मसिद्धका सन्तानले प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयमा जाँदा कानुन बनेको छैन भनी फिर्ता पठाइन्छ,’ यादवले भने, ‘संविधानको धारा ३०४ मा प्रष्ट लेखिएको छ। तर, पनि सरकारले नागरिकता दिँदैन।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell