काठमाडौं : राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने दोस्रो प्रधानमन्त्री कप अन्तर प्रदेश एकदिवसीय क्रिकेट प्रतियोगितालाई अष्ट्रेलियन कलेजले मुख्य प्रायोजन गरेको छ।
जेठ दोस्रो साता सुरु हुने प्रतियोगितालाई अष्ट्रेलियाको सिड्नीस्थित एक्सेलसिअ कलेजले मुख्य प्रायोजन गरेको हो।
शुक्रवार राजधानीमा आयोजिक कार्यक्रममा प्रतियोगिताको व्यवस्थान गर्ने नेपालय इन्टरनेशनलका एमडी सुवास प्रधान र उक्त कलेजमा मार्केटिङ एण्ड स्टुडेन्ड रिक्रुइटमेन्टको डिरेक्टर बबी अब्राहमले सम्झौतापत्रमा हस्ताक्षर गरे।
प्रतियोगिताको टाइटल स्पोनसर रहने भएपछि उक्त कलेजले कती रकम प्रदान गर्ने भन्ने कुरा आयोजक र कलेजले खुलाउन चाहेनन्। नेपालका इन्टरनेशनलका सुवास प्रधानले प्रायोजनको शर्तअनुसार प्रायोजन रकम खुलाउन नमिल्ने बताए।
यस्तै बबी एब्राहमले पनि डिप्लोम्याटिक जवाफ दिँदै प्रायोजन रकम खुलाउन चाहेनन्।
गत वर्ष पहिलो संस्करणमा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको केसीटीसीले प्रतियोगिताको व्यवस्थापन जिम्मेवारी सम्हालेका थियो। तर गत वर्ष केही गढबढ भएका कारण यसपटक पूर्व खेलाडी समेत रहेका सुवि प्रधानको नेपालयले व्यवस्थापनको जिम्मेवारी लिँदैछ।
यस्तै प्रतियोगिताको सहप्रायोजकको रुपमा नेपाललयले नेपाल लिक्वेर प्रालीसँग सम्झौता गरेको छ।
उद्घाटन खेलमा एपीएफ र प्रदेश ४ भिड्ने
शुक्रवारै प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ। जेठ १३ देखि २९ गतेसम्म कीर्तिपुरको टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ वटा प्रदेश र ३ विभागीय टोलीसहित १० टोलीको सहभागिता रहनेछ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह ए मा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी तथा प्रदेश १, प्रदेश २ र प्रदेश ४ छन्।
यस्तै समूह बी मा विभागीय टोली नेपाल पुलिससँगै प्रदेश ३, प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ छन्।
उद्घाटन खेल जेठ १३ गते टीयू मैदानमा एपीएफ र प्रदेश ४ बीच हुनेछ।
नेपाल संघिय संरचनामा गएपनि पहिलो पटक सातवटै प्रदेशलाई समेटर विभागीय टोलीसहितको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिताको विजेताले नगद २० लाख र ट्रफी हात पार्नेछन् भने उपविजेताले १०० लाख पाउनेछन्।
यस्तै म्यान अफ दि सिरिजले १ लाख, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले ५०-५० हजार तथा उदयीमान खेलाडीले १५ हजार हात पार्नेछन्। प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १० हजार प्राप्त गर्नेछन्।