काठमाडौं : भलिबलले नेपालको राष्ट्रिय खेलको मान्यता पाएको एक वर्ष पुगेको अवसरमा विद्यालय स्तरिय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा प्रथम चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिता हुन लागेको शुक्रवार आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
गत वर्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सरकारले भलिबललाई २०७४ साल जेठ ८ गते राष्ट्रिय खेलको मान्यता दिएको थियो।
यस प्रतियोगिताको मुख्य उदेश्य विद्यालय तहमा रहेको प्रतिभाहरुको खोजी गर्नु रहेको प्रतियोगिताको प्राविधिक संयोजक कुमार राईले बताए। राई न्यू डायमण्ड एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक समेत हुन्।
राईले विद्यालय तहमा पछिल्लो समय कुनै पनि प्रतियोगिता नभइरहेको अवस्थामा यस्तो प्रतियोगिता हुँदा सिनियर टिमका लागि खेलाडी छनोट गर्न सजिलो हुने बताए।
उनले पहिला-पहिलो पुरस्कारको व्यवस्था नहुँदा पनि खेलाडीहरुले निरन्तर खेल्न पाएका कारण राम्रो खेलाडी जन्मेको बताउँदै वर्तमान समयमा प्रतियोगिता कम हुन थालेको बताए।
उनले न्यू डायमण्डका प्रतिभा मालीले कक्षा ३ बाट भलिबल खेल्न सुरु गरेको स्मरण गर्दै अब यो प्रतियोगिताबाट अन्य प्रतिभाहरु जन्माउने विश्वास व्यक्त गरे।
महिला टिम उत्कृष्ट बनाउन प्रत्येक वर्ष सुविधा बढाउँदै अझै व्यवस्थित प्रतियोगिता आयोजना गर्ने बताए।
चार दिन चल्ने प्रतियोगितामा न्यू डायमण्डसहित राजधानीका विभिन्न १० स्कुलका छात्रा टोलीले प्रतिस्पर्धा गर्नेछन्। १० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ए र बी मा ३-३ तथा समूह सी र समूह डी मा २-२ टिम छन्।
समूह ए र बी बाट शीर्ष दुई टोली क्वाटरफाइनल पुग्नेछन् भने समूह र सी र डी का दुवै टोली अन्तिम आठमा पुग्नेछन्।
समूह चरण र क्वाटरफाइनल खेलहरु बेस्ट अफ थ्री तथा सेमिफाइनल र फाइनल खेलहरु बेस्ट फाइभमा खेलाइनेछ।
नेपाल भलिबल संघको तत्वधानमा हुने प्रतियोगिताको विजेताले नगद ४५ हजार हात पार्नेछन् भने उपविजेताले २५ हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडी र विधागत उत्कृष्टहरुलाई पनि नगदसहित पुरस्कृत गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिता खेलहरु नैकापस्थित न्यू डायमण्डको खेलकैदानमा हुनेछ।
न्यू डायमण्ड र एपीएफबीच सेलेब्रेसन म्याच हुने
यसैगरी प्रतियोगिताको अन्तिम दिन फाइनल खेलपछि नेपालका दुई चर्चित टिम न्यू डायमण्ड र एपीएफबीच भलिबल दिवसको अवसरमा सेलेब्रेसन म्याच खेलाइने प्राविधि संयोजक राईले जानकारी दिए।
डायमण्ड र एपीएफ महिला भलिबलका उत्कृष्ट टोली हुन् र यी दुईबीचको खेल सँधै प्रतिस्पर्धात्मक हुने गर्छ। त्यसैलाई मध्यनजर गर्दै सेलेब्रेसन म्याच गर्न लागेको राईले बताए।
'भलिबल दिवसमा सेलेब्रेसन म्याच गर्न लागेको हो। यसलाई निरन्तरता दिँदै वान डे म्याच पनि गर्न सकिन्छ। अरु टिमलाई पनि बोलाउन सकिन्छ।' राईले भने।
नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले पनि त्यसैमा मिसिएर भलिबल दिवस मनाउने बताए। '८ गते न्यू डायमण्ड जाऔँ, भलिबल दिवस मनाऔँ' राई र चन्दले भने।