PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

केपीएल : धनगढी र टिकापुरको लगातार दोस्रो जित, सन्दीप सुनारको अलराउण्ड प्रदर्शनमा रुपन्देही विजयी



पहिलोपोस्ट

केपीएल : धनगढी र टिकापुरको लगातार दोस्रो जित, सन्दीप सुनारको अलराउण्ड प्रदर्शनमा रुपन्देही विजयी

सुर्खेत : धनगढी क्रिकेट एकेडेमी (डिसिए) र टिकापुर क्रिकेट क्लबले कर्णाली क्रिकेट लिग (केपीएल) टी-२० क्रिकेटमा लगातार दोस्रो जित हात पारेका छन्।

सुर्खेतको वीरेन्द्रनगरको रंगशालामा जारी प्रतियोगितामा शुक्रवार डिसिएले रोयल राइजिङ क्लबलाई ४९ रनले पराजित गरेको हो। लगातार दोस्रो जितपछि डिसिएले समूह बी मा ४ अंक जोडेको छ।

खेलमा टस जितेर ब्याटिङ गरेको डिसिएले २० ओभरमा सबै विकेट गुमाएर १६१ रन बनाएको थियो।

धनगढीको लागि लोकेश बमले सर्वाधिक ३८ रन बनाए। उनले २४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान भुवन कार्कीले २६, सुनिल धमलाले २५ तथा बिपिन रावलले २३ रन योगदान गरे। रोयल राइजिङका विजय बिस्टले सर्वाधिक ४ विकेट लिए भने चन्द्र बिसी र दिवान पुनले २-२ विकेट लिए।

१६२ रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिङले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो। ओपनर प्रकाश जैसीले सर्वाधिक ६२ रनको योगदान दिए पनि टिमलाई जितसम्म भने पुर्‍याउन सकेनन्। जैसीले ४४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। धनगढीका बलर पवन कार्की र महेश अधिकारीले समान २ विकेट लिए भने सुनिल धमला र भुवन कार्कीले १-१ विकेट हात पारे। अलराउण्ड प्रदर्शन गरेका सुनिल धमला प्लेयर अफ द म्याच चुनिए।

यस्तै रोमान्चक खेलमा टिकापुर क्रिकेट क्लबले महाकाली क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै समूह ए मा दोस्रो जित हात पारेको छ। टिकापुरले १४९ रनको लक्ष्य एक बल बाँकी छदा ८ विकेट गुमाएर पुरा गरेको हो। ।

टिकापुरको जितमा रवि शाहले सर्वाधिक ५५ रनको योगदान दिए। शाहले ३७ बल खेल्दै ११ चौका प्रहार गरे। यस्तै आयुब चन्दले २४ तथा अजय बिस्टले २० रन बनाए। अन्तिम ओभरको २ बलमा जितको लागि ५ रन आवश्क रहेको बेला ललित प्याकवालले छक्का प्रहार गर्दै टिकापुरलाई जित दिलाएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको महाकाली क्रिकेट क्लबले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १४८ रन बनाएको थियो। महाकालीको लागि प्रकाश सिंहले सर्वाधिक ३७ रन, नरेश बोहराले ३३ रन तथा सुरेन्द्र चन्दले २९ रन बनाए। टिकापुरका बबिन शर्मा र अर्जुन शाहीले समान २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच रवी शाह घोषित भए।

 

रुपन्देहीको जितमा सन्दीपको अलराउण्ड प्रदर्शन

समूह ए मै रहेको भेट्रान खेलाडी शक्ति गौचनको रुपन्देही-११ लाई विजयि सुरुवात गराउन सन्दीप सुनारले अलराउण्ड प्रदर्शन गरे। सन्दीपकै प्ररदर्शन मद्दतमा रुपन्देहीले भेरीगङ्गा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्‍यो।

जितका लागि ६९ रनको सामान्य लक्ष्य रुपन्देहीले ५.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो। रुपन्देहीका जितमा प्लेयर अफ द म्याच चुनिएका सन्दिप सुनारले आक्रामक ब्याटिंग गर्दै ३१ रन बनाए। उनले ११ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै सौरभ खनालले ७ बल खेल्दै ३ चौकार र ५क्काको मद्दतमा २४ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भेरीगंगा क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६८ रन मात्रै बनाएको थियो।

भेरिगङ्गालाई अलआउट गर्न रुपन्देहीका सन्दिप सुनार र बशिर अहमदले समान ३ विकेट तथा बिक्रम भुसालले २ विकेट लिए। भेरीगंगाको लागि सौगात कार्कीले सर्वाधिक २० रन योगदान दिए।

शनिबार पनि केपीएलमा तीन खेल हुँदैछन्। मध्यपश्चिम क्रिकेट क्लब र रोयल राइजिङबीच बिहान ७ बजे, एबीसी स्पोर्ट्स् क्लब र धनगढी क्रिकेट एकेडेमीबीच बिहान साँढे १० बजे र त्रिभुवन आर्मी क्लब र रुपन्देही- ११ बीच दिउँसो २ बजे खेल हुने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell