काठमाडौँ : कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उपाधि हरि रिमाल र कान्छिमाया कोजूले जितेका छन्।
नेपाली सेनाका धावक रिमालले पुरुषतर्फ तथा सशस्त्र प्रहरीकी कोजूले महिलतार्फको उपाधि जितेका हुन्। दुवै विजेताले ५०-५० हजार रुपैयाँ र रनर काइट प्लस स्कुटर पाएका छन्।
कान्तिपर हाफ म्याराथनको सर्वाधिक सफल दुवै खेलाडी साविक विजेता समेत हुन्। यस संस्करणसहित कोजुले सर्वाधिक ४ तथा रिमालले ४ पटक उपाधि जितिसकेका छन्।
हरीले यसअघि २०६८, २०७१ र २०७३ मा जितेका थिए। २०६७ को पहिलो संस्करण नै जितेकी कोजुले २०६९, २०७० र २०७३ मा पनि जितेकी थिइन्।
रिमालले निर्धारित २१.१ किलोमिटर दूरी १ घण्टा ९ मिनेट २ सेकेण्डमा पुरा गरे। रिमालले होमलालई श्रेष्ठलाई १४ सेकेण्डले पछि पारे। यस्तै दोस्रो भएका होमलाल श्रेष्ठले १ घण्टा ९ मिनेट १६ सेकेण्डमा दूरी सकाए।
गजेन्द्र राई १ घण्टा १० मिनेट ९ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भए। होमलाले नगद ३० तथा जगेन्द्रले २० हजार प्राप्त गरे।
महिलातर्फ च्याम्पियन कोजुले निर्धारित दूरी १ घण्टा २१ मिनेट २८ सेकेण्ड पूरा गरिन्। दोस्रो भएकी सन्तोषी श्रेष्ठले १ घण्टा २३ मिनेट ४३ सेकेण्डमा दुरी पूरा गरिन्। १ घण्टा २५ मिनेट २३ सेकेण्डमा दुरी पूरा गर्दै ब्रिन्दा श्रेष्ठ तेस्रो भइन्। दोस्रो भएकी सन्तोषीले ३० तथा तेस्रो भएकी ब्रिन्दाले २० हजार पाइन्।
यस्तै ह्विलचेयरतर्फ पुरुषमा नेपाली सेनाका राम बहादुर तामाङ तथा महिलामा यामी झाकी तामाङ पहिलो भए। दूवैले नगद २० हजार प्राप्त गरे।
५ किमि कर्पोरेट/मिडिया दौडको उपाधि पुरुषतर्फ अजय तामाङले महिलातर्फ लादेन प्रधानले जिते।
कान्तिपुर पब्लिकेशन्सको सेन्ट्रल बिजनेस पार्क, थापाथलीबाट सुरु भएको दौड त्यसपछि माइतीघर, नयाँ बानेश्वर, सानोठिमी हुँदै भक्तपुरको सल्लाघारी चोक पुगेर सोही रुटमा फर्केर थापाथलीमै पुगेर टुंगिएको थियो।