
सुर्खेत : कर्णाली प्रिमियर लिग (केपीएल) मा धनगढी क्रिकेट एकेडेकी (डिसिए)ले लगातार तेस्रो जित हात पारेको छ। लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा धनगडी, मध्य-पश्चिम क्रिकेट क्लब र रुपन्देही ११ ले जित हासिल गरेका छन्।
तेश्रो दिनको खेल पछि समुह 'ए' मा टिकापुर क्रिकेट क्लब र रुपन्देही-११ २ खेलमा जित हात पार्दै समान ४ अंक बटुल्दै शीर्ष स्थानमा छन्। लगातार तेस्रो जित हात पारेको धनगढी ३ खेलबाट ६ अंकका साथ समुह 'बी' को शीर्ष स्थानमा छ भने २ खेलमा १ जित र १ हार बेहोरेको मध्य-पश्चिम क्रिकेट क्लब २ अंकका साथ दोश्रो स्थानमा रहेको छ।
पहिलो खेल
शनिबारको पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले रोयल राइजिंग क्लबलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
टस हारेर ब्याटङको निम्तो पाएको रोयल राइजिंग क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाई ८७ रन मात्रै बनाउन सक्यो।
मध्य-पश्चिम क्रिकेट क्लबका बलर दिपेन्द्र रावत एक्लैले ४ विकेट हात पार्न ४ ओभरमा १५ रन खर्चिए भने सुनिल सुनारले ३ विकेट तथा भिम धमलाले २ विकेट लिए। रोयलको लागि ओपनिंग ब्याटिंग गरेका प्रकाश जैसीले सर्वाधिक ३० रन योगदान दिए भने खुसिराम बिकले १६ तथा दिवान पुनले १३ रन बनाए।
८८ रनको लक्ष्य मध्य-पश्चिमले ९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। जितमा ओपनर मनोज सुनारले अविजित अर्धशतक बनाउने क्रममा ५३ रनको स्कोर बनाउन मात्र २४ बलमा ५ छक्का र ४ चौका प्रहार गरे। यस्तै कप्तान शुबेन्दु पाण्डे र राजबिर सिंहले समान १४ रन बनाए।
खेलको म्यान अफ द म्याच दिपेन्द्र रावत चुनिए।
दोश्रो खेल
दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले एबिसी स्पोर्ट्स क्लबलाई ३२ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेश्रो जित हात पारेको छ।
टस जितेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो। धनगढीको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४० रन योगदान दिए। उनले ३५ बलमा ४ चौका प्रहार गरे। यस्तै बसन्त कार्कीले ३० रन बनाउन २० बलमा ३ छक्का र १ चौका प्रहार गरे। लोकेश बमले २५ तथा कप्तान भुवन कार्कीले १५ रन बनाए। एबिसीका बलर सुनिल मिश्रा, करन मल्ल र आकाश थापाले समान २/२ विकेट आफ्नो नाम गरे।
लक्ष्य पछ्याउने क्रममा एबिसीले १२१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। एबिसीका ब्याट्सम्यान आयुष्मान बमले सर्वाधिक ३१ तथा महेश खत्रीले २१ रन योगदान दिए। धनगढीका बलर सुनिल धमला, बिक्रम ठगुन्ना र भुवन कार्कीले समान २/२ विकेट आफ्नो नाम गरे।
खेलको प्लेयर अफ द म्याच सुनिल धमला घोषित भए।
तेश्रो खेल
शनिबारको अन्तिम खेलमा रुपन्देही ११ ले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई रोमान्चक खेलमा ४ विकेटले पराजित गर्यो।
टस जितेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले पुरा २० ओभरमा ९ विकेट गुमाएर १५५ रनको योगफल तयार गर्यो। आर्मीको लागि भिम शार्कीले सर्वाधिक ४३ रन, कप्तान बिनोद भण्डारीले ३२ रन तथा सागर पुनले २९ रन बनाए। शार्कीले ३० बलमा ४ चौका र २ छक्का तथा भण्डारीले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। रुपन्देहीका बलर कृष्ण कार्की र बशिर अहमदले समान ४/४ विकेट हात पारे।
लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले २.२ ओभरमा २४ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। पुनः आधा घण्टापछि खेल सुरु हुँदा प्याराबोला प्रणाली अनुसार रुपन्देहीलाई ११ ओभरमा ९३ रनको लक्ष्य दिईएको थियो।
२४/१ को अवस्थामा रहेको रुपन्देहीले त्यसपछि ५२ रनको स्कोरमा ६ विकेट गुमाउन पुग्दा हारको खतरा देखिएको थियो। तर सातौँ नम्बरमा ब्याटिंग गर्न आएका सुरज दराईले आक्रामक ब्याटिंग गर्दै मात्र १६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेपछि रुपन्देहीले ६ बल अगावै लक्ष्य पुरा गरेको थियो। सातौँ विकेटको लागि दराईले शक्ति गौचनसंग ४६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।
खेलको प्लेयर अफ द म्याच सुरज दराई घोषित भए।