PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

आइपीएल : विराट कोहलीको बैंगलोर प्लेअफ पुग्न असफल, राजस्थानको सम्भावना कायम



पहिलोपोस्ट

आइपीएल : विराट कोहलीको बैंगलोर प्लेअफ पुग्न असफल, राजस्थानको सम्भावना कायम

रोएल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै राजस्थान रोएल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)को प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ।

आफ्नो अन्तिम लिग खेलमा बैंगलोरलाई ३० रनले पराजित गर्दै राजस्थान १४ खेलबाट १४ अंक जोड्दै अंक तालिकामा चौथो स्थानमा उक्लेको हो। एक खेल कम खेलेको कोलकता १४ अंकका साथ तेस्रो स्थानमा छ। अब राजस्थानले प्लेअफमा स्थान बनाउन कोलकता र हैदरावाद तथा मुम्बई र पञ्जावबीचको खेलको नतिजा कुर्नुपर्नेछ। 

सिजनको आठौँ खेल हारेको बैंगलोर भने १४ मध्ये ६ खेल मात्र जित्दै प्लेअफ पुग्न असफल भयो। यसअघि नै दिल्ली प्लेअफ होडबाट बाहिरिसकेको छ।

१६३ रनको लक्ष्य पछ्याएको बैंगलोरले १९.२ ओभरमा १३४ रनमा अलआउट भयो। बैंगलोरका लागि एबी डे भिलिएर्सले सर्वाधिक ५३ तथा पार्थिव पटेलले ३३ रन बनाए। बलरद्वय टिम साउदी र मोहम्मद सिरजाले समान १४ रन जोडे। बाँकी ७ खेलाडीले दोहोरो अंक छुन सकेनन्। बैंगलोरलाई अलआउट गर्न राजस्थानका श्रेयास गोपालले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। बेल लाउलिन र जयदेव उनादकाटले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ओपनर राहुल त्रिपाटीको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो। त्रिपाटीले खेलअवधीभर ब्याट क्यारी गर्दै नटआउट ८० रन बनाए। ५८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान अजिन्का रहानेले ३३ तथा हेनरिच क्लासेनले ३२ रनको योगदान गरे।

बैंगलोरका उमेश यादवले ४ ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell