
छत्तिसगढः छत्तिसगढको दन्तेवाडा क्षेत्रमा माओवादी कार्यकर्ताहरूले थापेको धरापमा परी ६ जना प्रहरी मारिएका छन्। सडक निर्माणको अवलोकन गर्न निस्किएको प्रहरीको जिपलाई लक्षित गरी माओवादीहरूले धराप विस्फोट गराएका थिए।
घटनामा परी मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका ४ र डिस्ट्रिक्ट फोर्सका २ जना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। घटनामा एक अर्का जवान घाइते भएका छन्।
घटना दन्तेवाडाको छोलनार गाउँमा भएको थियो। नक्सलप्रतिरोधी अप्रेसनका डिआईजी सुन्दर राजले ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको जनाएका छन्। घटनाको अनुसन्धान भइरहेको उनले बताए।
यसभन्दा अगाडि पनि मार्च १३ मा माओवादीले थापेको धरापमा परी ९ जनाको मृत्यु भएको थियो।