काठमाडौं : वाम गठबन्धनको सरकारले पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ। प्रधानमन्त्री केपीशर्मा ओली सरकारले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ।
कार्यक्रममा सरकारी रुग्ण उद्योग सार्वजनिक- निजी साझेदारीमा संचालन गर्ने उल्लेख छ। सिमेन्ट उत्पादनलार्इ बढाएर विदेशमा समेत निर्यात गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। पछिल्लो समयमा मुलुकभित्र ठूला क्षमताका सिमेन्ट उद्योग स्थापना हुने क्रम बढेको छ।
दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने होङसी शिवम् सिमेन्ट संचालनमा आइसकेको छ भने अरु तीन हजार टन क्षमता भएको उद्योग पनि आउने क्रममा रहेका छन्। संचालनमा रहेका उद्योगले समेत क्षमता बढाइरहेका छन्। अर्घाखाँची सिमेन्टले तीन हजार टन उत्पादन थालिसकेको छ भने घोराही सिमेन्टले केही समयमै चार हजार टन क्षमतामा बिस्तार गर्दैछ।