काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ। जेठ ७ लाई चलचित्र पत्रकारिता दिवसका रुपमा मनाउँदै आएको संघले सोमवार 'चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार' वितरण पनि गरेको हो।
संचार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार दयाराम पाण्डे र ध्रुव लम्साललाई 'चलचित्र पत्रकारिता सम्मान' गरियो। त्यस्तै लक्ष्मण सुवेदी र सन्ध्या थापालाई 'चलचित्र पत्रकारिता पुरस्कार' र मनिष दाहाल (अन्जान)लाई 'प्रोत्साहन पुरस्कार' प्रदान गरियो।
सुवेदी र थापाले जनही नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्राप्त गरे। फिल्मीखबर डटकममा कार्यरत दाहाले १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्राप्त गरे। संघका पूर्व अध्यक्ष समेत रहेका पाण्डे हाल रमाइलो टिभीका अध्यक्ष हुन्। नेपाल पत्रकार महासंघका पूर्वसचिव लम्साल हाल राजधानी दैनिकमा कार्यरत छन्। यस्तै सुवेदी नयाँ पत्रिका दैनिक र थापा टिभी फिल्मीमा कार्यरत छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ एशोसियटका नयाँ पदाधिकारीहरुलाई सम्मान पनि गरेको थियो। कार्यक्रममा चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकरी, अभिनेत्री करिश्मा मानन्धर, केकी अधिकारी, साम्राज्ञी राज्य लक्ष्मी शाह, गायक प्रमोद खरेलऽ मरिश्का पोख्रेल लगायतको उपस्थिति थियो।