
इन्डियन प्रिमियर लिग (आइपीएल) प्लेअफअन्तर्गत आज एलिमिनेटर खेल हुँदैछ। लिग चरणमा तेस्रो स्थानमा रहेको कोलकता नाइट राइडर्स र चौथो स्थानमा रहेको राजस्थान रोएल्सबीच एलिमिनेटरमा प्रतिस्पर्धा हुँदैछ।
यस खेलमा विजयी हुने टोली दोस्रो क्वालिफायरको लागि छनोट हुने जहाँ उसले पहिलो क्वालिफायरको पराजित टोली सनराइजर्स हैदरावादसँग खेल्नेछ। र त्यसको विजेता फाइनल पुगनेछ।
एलिमनेटरको पराजित टोली भने प्रतियोगिताबाट बाहिरिनेछ। पहिलो क्वालिफायरमा हैदरावादलाई हराउँदै चेन्नाई सुपर किंग्स फाइनल पुगिसकेको छ।
प्लेसम्म पुग्ने क्रममा कोलकताले १४ मध्ये ८ खेल जितेको हो। जसमा कोलकताले राजस्थानलाई दुवै खेलमा पराजित गरेको थियो। यस्तै राजस्थानले १४ मध्ये ७ खेल जितेको थियो।
कोलकताले लिग चरणमा राजस्थानलाई ७ विकेट र ६ विकेटले हराएको थियो।
एलिमिनेटर घरेलु मैदान एडेन गार्डेनमै खेल्ने भएका कारण कोलकतालाई होम एड्भान्टेज पनि छ। एडेन गार्डेनमा राजस्थानसँग अहिलेसम्म खेलेका ६ मध्ये कोलकताले ५ खेल जितेको छ।
कोलकताको लागि लिग चरणमा कप्तान दिनेश कार्तिकले सर्वाधिक ४३८ तथा क्रिस लिनले ४२५ रन बनाएका थिए। यस्तै बलिङमा सुनिल नारिनले १६ विकेट लिएका छन्। ब्याटिङ पनि नारिनले दुई अर्धशतकसहित ३२७ रन बनाइसकेका छन्। क्रिस लिनसँग नारिनले ओपनिङ गर्दै आएका छन्। यी ३ खेलाडीसँगै रोविन उथापा, कुलदिप यादव, आन्द्रे रसेलको फर्म कोलकताको लागि महत्वपूर्ण हुनेछ।
एलिमिनेटरका लागि राजस्थानको टोलीमा दुई इंग्लिस खेलाडी जोस बटलर र बेन स्टोक हुनेछैनन्। बटलर तिनै खेलाडी हुन् जसले लिग चरणमा राजस्थानका लागि सर्वाधिक ५४८ रन बनाएका थिए। बटलर पछि धेरै रन बनाउने राजस्थानको खेलाडीमा सन्जु सामसन छन्। उनले ३९१ रन बनाएका छन्। बटर र स्टोकको स्थानमा डि आर्ची सर्ट र हेनरिक क्लासेनले खेल्नेछन्।
तर राजस्थानले ३ विदेशी बलर खेलाडीमा भने क्लासेनले मात्र ब्याटिङमा स्थान पाउनेछन्।
लिग चरणमा ९ खेल खेलेका जोफ्रा आर्चर राजस्थानका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले १३ विकेट लिएका छन्।