
काठमाडौँः सरकारको वार्षिक नीति तथा कार्यक्रममा आज पनि छलफल हुँदैछ। प्रतिनिधिसभामा बुधबादेखि सुरु भएको छलफल बिहीबार पनि निरन्तर रहनेछ। शुक्रबार प्रधानमन्त्रीले जवाफ दिँदै छलफल सक्ने तयारी छ।
बुधबार छलफलमा भाग लिन संशोधनकर्तासहित ४० सदस्यले नाम लेखाएका थिए। बिहीबार पनि दलीय आधारमा समय लिएर नीति तथा कार्यक्रममाथि सांसदहरुले धारणा राख्नेछन्।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रम दिशाहीन रहेको बताएका थिए। सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताको समेत अवमूल्यन गरेर सरकारले कार्यक्रम तय गरेको आरोप लगाएका थिए।
सदनमा प्रतिपक्ष दलका सांसद्ले सरकारको नीति तथा कार्यक्रममाथि आलोचना गर्दा सत्तापक्षले भने बचाउ गरेका थिए। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल लगायतले सरकारको नीति तथा कार्यक्रम संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख भएको बताएका थिए। यस्तै, पाँच वर्षमा पूरा गर्नेगरी तय भएका कार्यक्रमहरु परिणाममुखी हुने बताएका थिए।