PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

‘सपनाको सौदागर’ नबन्न राजपा सांसद कर्णको चेतावनी



पहिलोपोस्ट

‘सपनाको सौदागर’ नबन्न राजपा सांसद कर्णको चेतावनी

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले नीति तथा कार्यक्रमले जनतालाई सपना देखाएको भन्दै ‘सपनाको सौदागर’ नबन्न चेतावनी दिएका छन्। 

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै सांसद कर्णले नीति तथा कार्यक्रममा प्राथमिकताको सूची लामो राखिएको भन्दै त्यसको समेत विरोध गरे। 

उनले भने, ‘नीति तथा कार्यक्रममा धेरै कुरालाई प्राथमिकतामा राखिएको छ, कृषि, उद्योग, पर्यटनलाई हामीले प्राथमिकता दिएका छौं, सबैलाई प्राथमिकतामा राखेर हुँदैन। एउटालाई मात्र प्राथमिकतामा राख्नुपर्छ।’

उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नसमेत माग गरे। ‘७० प्रतिशत कृषिमा आश्रित छौँ भन्छौँ कृषिलाई प्राथमिकता राखौँ। कृषकले अहिले पनि कृषि सामाग्री पाउन सकेका छैनन्। कृषि कृषि भन्दै गर्दा देशको एकमात्र वीरगंज कृषि औजार कारखाना पनि बन्द गरेका छौं।’

उनले तराईमा पानी पर्दै गर्दा किसानहरु बाढीको डरले रातभर सुत्न नपाएको भन्दै बाढी नियन्त्रण तर्फ सरकारको ध्यान नपुगेको बताए। 

उनले नीति तथा कार्यक्रममा शान्ति समृद्धि र विकासको कुरा गरे पनि अशान्तिको कारण नखोजिएको आरोप लगाए। ‘शान्ति शान्ति भन्छौं, अशान्तिको कारण खोजिएन। अझै पनि मधेशी, आदिवासी, जनजाति, दलितले अधिकार पाएका छैनन्। उनीहलाई अधिकार नदिएसम्म शान्ति आउँदैन,’ सांसद कर्णले भने, ‘अन्तरिम संविधानले दिएको अधिकार पनि खोसियो। संविधान संशोधनको कुरा गर्नुहुन्छ तर नीति तथा कार्यक्रममा संशोधनको कुरा आएन।’ 

उनले नीति तथा कार्यक्रमले शहीद परिवार, अपांगहरुलाई सम्झन नसकेको आरोपसमेत लगाए। ले निर्वाचनमा ठूलो दल बनेर ‘सपनाको सौदागर’ नबन्न चेतावनी दिँदै थपे, ‘संसदीय अभ्यासमा धेरै ठूला दल देखियो। फेरि तीनै दल हारेर तल झरेको पनि देखियो। जनताले आशा गरेका छन्। सपनाको सौदागर नबन्नुस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell