काठमाडौं : सरकारको नीति तथा कार्यक्रममाथि बिहीवारबाट राष्ट्रियसभामा छलफल सुरु भएको छ। राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्न प्रस्ताव पेश गरेसँगै छलफल सुरु भएको हो।
यही सोमबार राष्ट्रपति विद्यादवी भण्डारीले संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
छलफलमा सहभागि हुँदै राजपा नेता तथा राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लालले संविधान संशोधनको विषयलाई नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै आक्रोश पोखे।
उनले सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी र अंक गणितीय खेल भएको टिप्पणी गर्दै संविधान संशोधनको विषय पनि नीति तथा कार्यक्रममा राखिनुपर्ने माग राखे।
सांसद लालले मधेशमाथि विभेद हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको समेत आरोप लगाए। उनले संविधान संशोधन नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए।
छलफलमा सहभागि संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले लालको भनाइमा समर्थन गर्दै संविधान संशोधन गर्ने आफूहरुको अडान नीति तथा कार्यक्रममा समावेश गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन। कुमारीले जनसंख्या र मानव विकास सूचकांकलाई आधारमा बनाएर साधन र स्रोतको बाँडफाँड गरिनुपर्ने बताइन्।