
सुर्खेत : रुस्लान कर्णाली प्रिमियर लिग (केपीएल) को समूह चरणका सबै खेलहरु सकिएका छन्। बिहीवार भएको खेलमा भेरिगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो।
यस्तै बिहीवारै भएको अन्तिम लिग खेलमा एबीसी स्पोर्ट्स क्लबले काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरलाई १९ रनले हरायो।
आठौँ दिन सम्पन्न २ वटा खेलपछि सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ए बाट रुपन्देही ११ ४ वटै खेल जित्दै समूह विजेता बन्यो। यस्तै ४ मध्ये ३ खेल जितेको आर्मी समूह बी को उपविजेता बनेको हो।
उता यसअघि नै समूह बी बाट धनगढी क्रिकेट एकेडेमी समूह विजेता तथा मध्यपश्चिम क्रिकेट क्लब उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ।
शुक्रवार हुने सेमिफाइनलअन्तर्गत पहिलो खेलमा रुपन्देही ११ र मध्यपश्चिम क्रिकेट क्लब भिड्नेछन् भने दोश्रो सेमीफाइनलमा त्रिभुवन आर्मी र धनगढी क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेलमा आर्मीले भेरिगंगा क्रिकेट क्लबलाई ८ विकेटले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको भेरीगंगा क्रिकेट क्लबले ढिला सुरु भएका कारण १२ ओभरमा घटाईएको खेलमा ४ विकेट गुमाएर ६३ रन बनाएको थियो। उसको लागि तिलक थापाले सर्वाधिक २० रन, सौगात कार्कीले १८ तथा पदम कंडेलले १३ रन बनाए। बलिङमा आर्मीका जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले समान १ विकेट लिए।
६४ रनको लक्ष्य आर्मीले ७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। आर्मीको लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ तथा राजु रिजाल र भिम शार्कीले समान १२ रन बनाए। भेरीगंगाका बलर जनादेश चुनाराले २ विकेट लिए।
दोश्रो खेलमा एबीसी क्लबले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई १९ रनले हरायो। टस जितेर ब्याटिङ रोजेको एबीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। उसको लागि दिनेश पुनले सर्वाधिक ६९ रन बनाए। दिनेशले ४५ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे। यस्तै टेक सलामीले २७ बलमा ४ चौका र ३ छक्का मद्दतमा ३९ रन बनाए। काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरका प्रितम थापा र भोज राज भट्टले समान २ विकेट लिए।
१६५ रनको लक्ष्य पछ्याएको काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले पुरै २० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो। उसको लागि बिश्वास श्रेष्ठले सर्वाधिक ४३ रन बनाए। यस्तै दुर्गेश थापाले २३ तथा रोशन शर्माले २० रन जोडे। एबीसीका महेश खत्रीले सर्वाधिक ३ विकेट लिए। दिनेश अधिकारी, युनिश बिक्रम सिंह, बिनित खत्री र रबिन्द्र जंग शाहीले समान १ विकेट लिए। दिनेश पुन खेलको प्लेयर अफ द म्याच घोषित भए।
जेठ ३ गते बाट सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ। प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।