PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

केपीएल : रुपन्देही विरुद्ध बदला लिँदै आर्मी च्याम्पियन, सन्दीप सुनार 'म्यान अफ दि सिरिज'



पी बी खड्का

केपीएल : रुपन्देही विरुद्ध बदला लिँदै आर्मी च्याम्पियन, सन्दीप सुनार 'म्यान अफ दि सिरिज'

सुर्खेतः कर्णाली प्रिमिएर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको पहिलो केपिएल प्रतियोगितामा रुपन्देही–११लाई ३७ रनले पछि पार्दै जित हात पारेको हो। 

बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको प्रतियोगितामा विजेता आर्मी क्लवले नगद तिन लाख सहित ट्रफी आफ्नो पोल्टामा पारेको हो। प्रदेशको अहिले सम्मकै ठुलो धनराशी भएको प्रतियोगितामा टस जितेर व्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३२ रनको योगफल बनाउन सक्यो। आर्मीका लागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगफल बनाए। 

रुपन्देहीको तर्फबाट विकास श्रेष्ठले बलिङ गरेर ३ तथा बसिर अहमद, विक्रम भुषाल र सन्दिप सुनारले एक विकेट लिन सफल भए। एक सय ३३ रनको लक्ष्य पछ्याउँदै व्याटिङ गरेको रुपन्देहीले १७.५ ओभरमा अलआउट भएर ९५ रन मात्र बनाउन सफल भयो। कप्तान शक्ति गौचनले १७, निश्चल चौधरीले २६, सन्दिप सुनारले २४, र शौरभ खनालले १६ रन जोड्न सके। 

त्यस्तै, बलिङतर्फ आर्मीका विक्रम शोवले ३, सुशन भारी र हरीकृष्ण झाले समान २÷२ तथा जितेन्द्र मुखिया र चन्द्र सावदले १÷१ विकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच आर्मीका विक्रम शोव घोषित भए भने, म्यान अफ दि सिरिज भएका रुपन्देहीका अलराउण्डर सन्दिप सुनारले नगद २५ हजार सहित ट्रफी हात पारे। 

उत्कृष्ट ब्याट्सम्यान आर्मीका सागर पुनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे भने उत्कृष्ठ बलर बनेका रुपन्देहीका कृष्ण कार्कीले पनि नगद दश हजार सहित ट्रफी प्राप्त गरे।

प्रतियोगिता जेठ ३ गते देखि सुरु भएको थियो भने, जसमा विभिन्न चर्चित १० वटा टिमको सहभागिता रहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell