PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

यी हुन् विश्वकप २०१८ का ५ ठुला दाबेदार : कसको पल्ला भारी?



पहिलोपोस्ट

यी हुन् विश्वकप २०१८ का ५ ठुला दाबेदार : कसको पल्ला भारी?

  • अभिनाश शर्मा

काठमाडौं : अब विश्वकप २०१८ को लागि १८ दिन मात्र बाँकी छ। ३२ वटै टीमहरूले विश्वकपका लागि प्रारम्भिक टोली सार्वजनिक गरिसकेका छन् भने केहीले २३ जना खेलाडी सम्मिलित आफ्नो स्क्वाड घोषणा गरिसकेका छन्। च्याम्पियन्स लिगको फाईनल सकेर रोनाल्डो र मोहम्मद सलाह लगायतका खेलाडीहरू पनि आफ्नो देशको ट्रेनिङमा फर्कँदैछन्।

संसारभर विश्वकप फुटबलको छुट्टै माहोल छ र हामीकहाँ पनि ! ब्राजिल, अर्जेन्टिना, जर्मनी लगायतका देशको जर्सीले राजधानी रंगिन बनिसकेको छ। संसारभरका मिडियाहरूमा र समर्थक जगतमा पनि अब अनुमान हुन थालिसकेको छ 'साँच्ची यो विश्वकप कस्ले जित्छ?' आफैँमा यो सजिलो प्रश्न भने होइन। यो वा त्यो टीमले विश्वकप जित्छ भनेर भन्नै सकिने अवस्था छैन। सबै टीम शारीरिक, मानसिक अनि प्राविधिक रूपमा पनि पूर्ण तयारीका साथ रसिया जाँदैछन। सम्भवना सबै टीमको छ तर यसको अर्थ सबै टीम विश्वकप ट्रफीको हकदार छन भन्ने चैँ होइन।

विश्वकपको सेमिफाइनलसम्म पुग्दा कति हेभिवेट हरू ग्रुपचरणबाटै, कति प्रिक्वाटर र क्वाटरमा आमनेसामने हुने सम्भावना छ। त्यसैले केही टीमहरू अन्डरडक्स को रूपमा अन्तिम ४ सम्म पुग्न सक्छन्। स्पेन र अर्जेन्टिनाको क्वाटरफाइनलमा भेट हुने सम्भावना धेरै छ। त्यहाँबाट हामीले एउटा विश्वकप नै जित्छ भनिने राम्रो टीमलाई गुमाउन सक्छौं।

त्यो सबै थाहा पाउन त विश्वकपसम्मै पर्खनै पर्छ।

यहाँनेर मैले विश्वकपको लागि उनीहरूको टीम, स्टार खेलाडी, टीमको फर्म र यो प्रतिस्पर्धामा उनीहरूको ईतिहासको आधारमा ५ उत्कृष्ट टीमहरू पस्कने प्रयत्न गरेको छु।

१.ब्राजिल

विश्वकप २०१८ को लागि फुटबल पण्डित हरूले पहिलो रोजाईमा राखेको टीम हो, ब्राजिल। २०१४ को विश्वकपमा आफ्नै घरमा जर्मनीसँग भोगेको नमिठ्ठो हारको चोटले ब्राजिलियनहरूलाई अझैपनि पोल्छ। विश्वमा सबैभन्दा धेरै फुटबल क्रेज र फ्यानबेस भएको देश पनि हो ब्राजिल। त्यो अर्थमा ५ पल्टको बिजेतालाई प्रत्येक विश्वकपको दाबेदारको रूपमा चर्चा गरिन्छ।


यसपालि उनीहरूको टीम एकदमै सन्तुलित पनि छ। यो टीममा पिएसजीका फरवार्ड नेयमार जस्ता वर्ल्डक्लास खेलाडी र बार्सिलोनाका फिलिप कोटिन्हो, म्यानचेस्टर सिटीका गाब्रीएल जेसस, लिभरपुलका रोवर्टो फिर्मिनो जस्ता युवा स्टार अनि रियल म्याड्रिडका क्यसिमिरो, पिएसजीका थियागा सिल्भा जस्ता अनुभवी खेलाडीहरूको राम्रो मिश्रण छ। यो टीममा युवा तथा पाका खेलाडीको सुहाउँदो मिश्रण त छँदै छ त्यसमाथि ब्राजिलियन कोचले दोश्रो रोजाईमा राख्ने (बेन्च प्लेयर) पनि उत्तिकै उत्कृष्ट छन्। भर्खरै चोटबाट फर्किएका नेयमारबाट ब्राजिलियन फ्यानले धेरै नै आशा गरेका छन्। रियल मड्रिडका लेफ्ट ब्याक मार्सेलो र डिफेन्सिभ मिडफिल्डर क्येसिमिरोको प्रदर्शन क्लब स्तरमा जस्तै हुने हो भने ब्राजिलियन टिम अझै मजबुत र सन्तुलित हुनेछ। शारीरिक र प्राविधिक रूपमा बलियो ब्राजिलको विश्वकप यात्रा कस्तो र कहाँसम्म रहनेछ भन्नेमा धेरैको कौतुहलता छ।

 

२.फ्रान्स

सन् २०१० मा स्पेन र ०१४ मा जर्मनीले विश्वकप जित्नुको पछाडि उनीहरूको मिडफिल्ड पावर नै थियो। अहिले फ्रान्सेली टीमको धार भनेकै उनीहरूको मिडफिल्ड हो।

पउल पोग्वा, एनगोलो कान्टे, ओसमान डेम्बेले जस्ता युवा प्रतिभावान खेलाडी रहेको यो टीमको एउटामात्र समस्या भनेको यो टीममा अनुभवको कमी छ। शारीरिक रूपमा बलियो मिडफिल्डका अलवा एन्टेनीयो ग्रीजमन, थोमस लेमार, ओलिभर जिरुड जस्ता युरोपको उत्कृष्ट क्लबहरूमा खेल्ने स्ट्राइकरहरू को पनि साथ छ यो टीममा। उसो त एट्लेटिको मड्रिडका ग्रीजमन असाध्यै फर्ममा छनु। रियल मड्रिडका राफले भरान र बार्सिलोनाको साम्एल उम्टिटीको डिफेन्स जोडीप्रति धेरैको कौतुहलता छ। म्यानचेस्टर सिटीका लेफ्टब्याक बेन्जामिन मेन्डी टीममा फर्किनु यो फ्रेन्च टीमको लागि प्लस पोईन्ट हो। फ्रान्सेली कोच डिडियर डेक्याम्स आफ्नो टीमका २३ जनै खेलाडी प्रतिभावान र शारीरिक रूपमा सबल भएकोले आफ्नै टीमले विश्वकप जित्ने दावी गर्छन्।

 

३.जर्मनी

युरोपको बादशाह, डिफेन्डिङ च्याम्पियन जर्मनीको खेल वायर्न म्यूनिखको फर्ममा आश्रित रहने गरेको पाईन्छ। २०१४ विश्वकप फाईनलका विजयी गोलकर्ता र गोलका लागि बल उपलब्ध गराएका मारियो गोट्से र आन्द्रे सुरले जर्मन टीमका पोलिस कोच जोचिम लो को अन्तिम २३ भित्र अटाउन सकेनन्। १४ को विश्वकप र १६ को युरोकप चोटका कारण गुमाएका बोरूसिया डर्टमन्डका मिडफिल्डर मार्को रिउस टीममा फर्केको छन्। उसो त बायर्नका युवा फुलब्याक जोसुअ किमिच, पिएसजीका युलियन ड्राक्सलर, म्यानसिटीका लरेय साने पनि टीममा अटाएका छन्।

यो टीममा आर्सनलका मेसुट ओजिल, रियल मड्रिका टोनी क्रुस र म्यूनिखकै थोमस मुलर मुख्य खेलाडीको भुमिकामा रहनेछन्। बार्सिलोनाका मार टेर स्टेगनले म्यूनिखका मानुएल नोएलाई पहिलो रोजाईको गोलकिपरको रूपमा विस्थापित गर्ने निश्चित छ। अन्तर्राष्ट्रिय टुर्नामेन्टमा जहिले राम्रो प्रदर्शन गर्ने अनि प्राविधिक रूपमा अत्यन्तै बलियो यस जर्मन टीमको सन्तुलन र शारीरिक सबलताको सन्दर्भमा चैँ यसपालि धेरैको शंका छ।
 

४.स्पेन

क्लब स्तरमा बार्सिलोना र रियल मड्रिडको कटु शत्रुता छ तैपनि स्पेनको टिममा अधिकांश यी दुई क्लबका खेलाडीहरू रहने गर्दछन्। स्पेनमा ५ वटा सम्म उस्तै स्तरका टीम बन्न सक्छन् र अहिलेको २३ जनाको को समूहमा अल्भारो मोरटा, मार्कोस अलन्सो, हेक्टर बेलारिन, हुवान माटा, सेस फाब्रिगस, मार्क बार्टा जस्ता खेलाडीहरू अटाएका छैनन्। आन्द्रेस ईनेष्टार डेभिड सिल्भा यो टीमका भेट्रान मिडफिल्डर हुन्। उनीहरू स्पेनी कोचको पहिलो रोजाईमा रहने लगभग पक्कापक्की नै छ।

रियल मड्रिडका युवा प्रतिभा ईस्को, मार्को एसेन्सियो र लुकास भास्केस पनि २३ जना भित्र अटाएका छन्। ईस्को पहिलो रोजाईमा रहनेछन्। बार्सिलोनाका मिडफिल्डर बुस्केट पनि पहिलो रोजाईमा रहनेछन्। डिफेन्समा रियल मड्रिडका सर्जियो रामोस र कार्भहल अनि बार्सिलोनाका जेराड पिके र जोर्डी अल्भा पनि पहिलो एघारमै अटाउनेछन्। अगाडि एट्लेटिको मड्रिडका स्ट्राइकर डियिगो कोस्टा अनि पछाडि नेटमा म्यान युनाइटेडका डेभिड डे हेअ रहने लगभग पक्कापक्की नै छ।

स्पेनिस टीमका ५ जना खेलाडीले स्पेनका लागि १०० प्लस क्याप जितिसकेका छन्। सुस्त मिडफिल्ड कहिलेकाँही टीमको लागि ठुलै समस्या भईपर्न सक्छ तर यसपालि स्पेनको खेल शैली टिकीटाका मात्र रहने छैन।

पुराना खेलाडीको अनुभव र नयाँ प्रतिभाको उर्जाले भरिएको ०८ ,१२ युरोकप तथा २०१० को विश्वकप विजेता स्पेनिस टीमलाई यसपालि धेरैले विश्वकप विजेताको रूपमा आँकलन गरेका छन्। यसका अलवा दुई ठुला विरोधी क्लबका खेलाडीबिचको सम्बन्धले टीमको प्रदर्शनमा समस्या ल्याउछ कि भन्नेमा धेरैको आशंका पनि छ।

 

५. अर्जेन्टिना

लगातार तीन ठुला अन्तर्राष्ट्रिय टुर्नामेन्टको फाईनल गुमाएको अर्जेन्टिनाको टीम यसपालि निकै दबाबमा छ। विश्वकपमा सामेल हुने ३२ वटाटा टिममध्ये सबैभन्दा पहिले ट्रेनिङ क्याम्प शुरू गर्ने टीम बनेको थियो, अर्जेन्टिना। उसो त बार्सिलोनाका स्टार लियोनल आन्द्रेस मेसीले अर्जेन्टिनाको सिनियर टीमको लागि कुनै ट्रफी जित्न नसकेकोमा आलोचना हुने गर्दछ। सम्भवत: मेसी र यो अर्जेन्टिनी टीमको लागि अन्तिम मौका हुन सक्छ, विश्वकप ट्रफी जित्न।

तर, अर्जेन्टिनाले विश्वकपसम्म आईपुग्न ठूलो संघर्ष गर्नुपर्‍यो। क्वालिफायरको अन्तिम खेलमा ईक्वेयरलाई ३-१ ले हराउँदै अर्जेन्टिना विश्वकपमा छनोट भएको थियो। उक्त खेलमा मेसीले ह्याट्रिक गरेका थिए।

प्रशिक्षक जोर्ज साम्पोलीले निकालेको २३ जनाको टीममा फररवार्ड र मिडफिल्ड/डिफेन्स लाईनबिच विविधता देखिन्छ। यो अर्जेन्टिनी टीमको स्वभाव पनि हो कि उनीहरूको फ्रन्टलाईन जहिले राम्रो हुन्छ।

मिडफिल्ड र फुलब्याकमा को कसरी खेल्छ भनेर अनुमान लगाउन गाह्रो छ। यद्यपि मेसीको अलवा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुयरो पनि स्ट्राइकरको रोलमा रहनेछन्। उनी अहिले पूर्णत फिट भएर मैदानमा खेल्नेछन् र यो अर्जेन्टिनी टीमको लागि एकदमै फाईदाको कुरा हो। मिडफिल्डमा सम्भवत पिएसजीका एन्जेल डि मारिया, जियोभानी लो सेल्सो, वेस्ट ह्यामका मानुएल लान्जिनी र एसी मिलनका लुकास बिग्लिया खेल्ने सम्भावना छ।

ज्याभिएर मास्केरानोले यसपालि बेन्चमा रहँदा लुकास बिग्लियाको काँधमा ठुलो जिम्मेवारी रहनेछ।

युभेन्टसका पाब्लो डिबला र गोन्जलो हिग्वेन अनि सेभियाका ईभर बनेगा र बोका जुनियर्सका पाभन बेन्चमा रहने सम्भवना छ। सेन्ट्रल डिफेन्समा म्यानसिटीका निकोलस ओटामन्डी र रोमाका फाजियो खेल्नेछन् भने गोलकिपिङमा रिभर प्लेटका फ्रान्को अर्मानीले चोटग्रस्ट भई बाहिरिएका सर्जियो रोमेरोको ठाउँ लिनेछन्।

फुलब्याकमा एजेक्स टाज्लियाफिको र सेभिलाका मर्काडो को सम्भावना छ। यसपालि अर्जेन्टिना २-३-३-२ को फर्मेसनमा मैदान उत्रने सम्भावना छ। उत्कृष्ट खेलाडीहरूले भरिएको यो अर्जेन्टिनी टीमलाई विश्वकप जित्न सहज चैँ छैन। क्वाटरफाइनलमा स्पेन (जित्दै गयो भने)  र सेमिफाइनलमा फ्रान्स (स्पेनले पनि जित्दै गयो भने) लाई सामना गर्नुपर्ने सम्भावना छ र उसो त अर्जेन्टिना को ग्रुप स्टेज आफैँमा सजिलो पनि छैन।

यद्यपि २१औँ शताब्दीका सर्वश्रेष्ठ खेलाडी लियोनल मेसी कुनै पनि विपक्षी टीमका लागि घातक हुन सक्छन्। उनका बच्चैदेखिका दोस्ती सर्जियो अगुयरोले पनि यसपालि आफूलाई सिद्ध गर्ने होनहार प्रयत्न गर्नेछन्। त्यसमाथि, अर्जेन्टिनाले पनि जर्मनीले जस्तै अन्तर्राष्ट्रिय टुर्नामेन्टहरू सँधै राम्रो खेल्छ।

यो टीमका खेलाडीले क्लब लेभलको खेल रसियमा पनि देखाए भने अर्जेन्टिनालाई रोक्न गाह्रो हुनेछ। अर्जेन्टिनाको लागि उनीहरूको फ्रन्ट लाईन नै मुख्य धार रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell