PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

नेकपा–फोरमबीच केन्द्रमा सहमति, प्रदेशमा समर्थन फिर्ता



बीपी साह

नेकपा–फोरमबीच केन्द्रमा सहमति, प्रदेशमा समर्थन फिर्ता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच केन्द्रमा सहमति भएर नीति तथा कार्यक्रममाथिको संशोधन विधेयक फिर्ता लिइरहँदा प्रदेश २ मा भने फोरम नेतृत्वको सरकारलाई नेकपाले समर्थन फिर्ता लिएको छ।

ओली सरकारको नीति तथा कार्यक्रममाथि फोरम नेपालका चार जना सांसदले संशोधन दर्ता गराएका थिए। 

उक्त संशोधन संसदमा पेस हुनुअघि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुबीच छलफल भएको थियो।

फोरमका तर्फबाट छलफलमा सहभागी महासचिव रामसहाय यादवले पहिलोपोस्टलाई भने,‘प्रधानमन्त्री ओलीज्यूले संविधान संशोधन लगायतका विषयमा आश्वासन दिनुभयो। त्यही भएर हामीले संशोधन फिर्ता लियौं।’

प्रधानमन्त्रीसँगको छलफल फोरम नेपाल सरकारमा जाने विषयमा पनि चर्चा चलेको थियो। तर महासचिव यादवले उक्त विषयमा कुनै सहमति नभएको बताउँदै भने,‘हामीले उठाएका सबै मागहरु पूरा गर्ने आश्वासन प्रधानमन्त्रीले दिनुभयो।’

उता प्रदेश २ को सरकारबाट आज अचानक नेकपाले समर्थन फिर्ता लिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिलाई कारण बनाउँदै नेकपाले समर्थन फिर्ता लिएको हो।

प्रदेश २ बाट नेकपाले समर्थन फिर्ता लिएको विषयमा यादवले भने,‘अहिले समर्थन फिर्ता लिएको छ, पुनः समर्थन गर्नेछ।’

प्रदेश २ को सभामा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपा ३२ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ। एकीकृत नहुँदा फोरम २९ सदस्यसहित सबैभन्दा ठूलो दल थियो। 

फोरमले २५ सदस्यसहितको राजपासँग मिलेर सरकार गठन गरेको थियो जसलाई तत्कालीन एमाले र माओवादी केन्द्रले पनि समर्थन गरेका थिए।  

केही दिन यता प्रदेश २ को सरकारमा सत्ता साझेदार फोरम र राजपाबीच बजेट बाँडफाँट लगायतका विषयमा विवाद बढ्दै गएको छ। उक्त विवादका कारण केन्द्र र प्रदेशमा पनि फोरम र राजपाबीच सम्बन्ध चिसिएको छ।

केन्द्रमा फोरमले संशोधन फिर्ता लिँदा राजपाले आफ्नो संशोधन कायम राखेको छ। तर बहुमतका आधारमा संशोधन पारित नहुने निश्चित छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell