PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सवारीमा कीर्ते कागज बनाएको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



पहिलोपोस्ट

सवारीमा कीर्ते कागज बनाएको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय महाकालीका तत्कालीन कार्यालय प्रमुख हेमन्तबहादुर सिंहसमेत दश कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

लिलाम सवारी दर्ता गर्ने प्रयोजनका लागि कीर्ते कागजात बनाई व्यापारीसँग मिलेमतो गरेको अभियोगमा सिंहसहित दश जनाविरुद्ध मुद्दा दायर गरिएको हो। 

अख्तियारले सिंहसहित मेकानिकल इन्जिनियर दीपक थापा, नायव सुब्बा नरेन्द्रराज जोशी, नायव सुब्बा महादेव भट्ट, नायव सुब्बा तारादत्त भट्ट, नायव सुब्बा केशवदत्त बडू, खरिदार श्यामकृष्ण ओझा, व्यवसायीहरू गोकुलप्रसाद श्रेष्ठ, दिनेश बम र करन भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो।

कीर्ते कागजातको आधारमा सवारी दर्ता गरी बेचबिखन गरेको आरोप अख्तियारको छ। अख्तियारले राजश्व छली गरी आफूहरूलाई लाभ लिई राज्यकोषमा हानी पुर्‍याएको दाबी लिएको छ।

अख्तियारले सिंहसँग ३२ लाख ९७ हजार ८१७ रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै, मेकानिकल इन्जिनियर थापाविरुद्ध १७ लाख २३ हजार ३३३, नायव सुब्बा नरेन्द्रराज जोशीविरुद्ध २७ लाख ४२ हजार ६८७ रुपैयाँ बिगो दाबी गरेको छ। 

यस्तै, नायव सुब्बा महादेव भट्टविरुद्ध १५ लाख ५९ हजार ३८९, नायव सुब्बा तारादत्त भट्टसँग पाँच लाख ९३ हजार ६१२, नायव सुब्बा केशवदत्त बडूसँग तीन लाख ८५ हजार ४३१ रुपैयाँ बिगो दाबी गरेको छ। 

यस्तै खरिदार श्यामकृष्ण ओझाविरुद्ध दुई लाख ४३ हजार ३९३ रुपैयाँ बिगो दाबी अख्तियारले गरेको छ। यस्तै व्यवसायी गोकुल श्रेष्ठसँग ४७ लाख ४० हजार ६९५, दिनेश बमसँग एक लाख २३ हजार ६१५, र करन भण्डारीसँग ३१ हजार ४१४ रुपैयाँ बिगो दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell