काठमाडौँ : सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई गणतन्त्र दिवसको दिन आममाफी दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार नेपालको संविधानको धारा २७६ अनुसार माफी दिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो।
संविधानको धारा २७६ मा 'राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिन माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ' उल्लेख छ।
माफीको सूचीमा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको पनि नाम रहेको भए पनि यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरिसकेको हुनाले अदालतकै निर्णयमा माफी हुने नहुने टुङ्गो लाग्नेछ।
मन्त्रिपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको भए पनि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो निर्णय लुकाए। उनले अरु निर्णयहरु पढिसकेपछि 'अब तपाईँहरुलाई काम लाग्ने सकियो' भन्दै विदा भएका थिए।
५ सयभन्दा बढी कैदीलाई आममाफी दिइने, 'तपाईँहरुलाई काम लाग्ने सकियो' भन्दै सरकारका प्रवक्ताले लुकाए निर्णय https://t.co/tkssEaX7wS pic.twitter.com/9wR5r1w2bk
— PahiloPost (@PahiloPost) May 27, 2018
अरु के के भए निर्णय?
- स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने
- संघीय संसद्मा पेश भएको सरकारको आर्थिक वर्ष २०७५/०७६ नीति तथा कार्यक्रमलाई संसदबाट सर्वसम्मतरुपमा पारित गराउन सहयोग गर्ने सांसदहरुलाई धन्यवाद दिने
- प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने
- नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच श्रम समझदारीपत्रलाई नवीकरण गर्ने
- श्रम नियमावली–२०७५ लाई स्वीकृत गर्ने
- विसं २०७४ साउन ८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं ६ को चारकिलो भन्ने स्थानमा पहिरो हटाउनेक्रममा निधन भएका चारजना प्रहरीका परिवारलाई जनही रु १० लाख आर्थिक सहयोग दिने
- शिक्षाको अधिकारसम्बन्धी विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने