
भर्खरै युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको स्पानिस क्लब रियल मड्रिडलाई क्लब र्याङ्किङमा बार्सिलोनाले पछि पारेको छ।
पछिल्लो चार वर्षमा क्लबको प्रदर्शनको आधारमा र्याङ्किङ तयार पारिने भएपनि पछिल्लो नतिजाले र्याङ्किङमा दुईतिहाई प्रभाव पार्ने बीबीसीले जनाएको छ।
डोमेस्टिक र इन्टरनेशनल कप टुर्नामेन्टमा खेल्दा क्लबले हात पारेको जित र हार दुवैको आधारमा टिमले अंक हात पार्ने र गुमाउने गर्छ।
स्पानिस ला लिगाको उपाधि विजेता बार्सिलोनाले रियललाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेको हो। स्पोर्ट्स डाटा कम्पनी ग्रेस नोटले तयार पारेको युरो क्लब इन्डेक्स अनुसार बार्सिलोना पहिलो तथा रियल दोस्रो स्थानमा छ। जर्मन क्लब वायर्न म्युनिख तेस्रो स्थानमा यथावत छ।
यस्तै च्याम्पियन्स लिगमा रियलसँग पराजित भएको इंग्लिस क्लब लिभरपुल ८ स्थान सुधार गर्दै ११औँ स्थानमा पुगेको छ।
इटालियन च्याम्पियन युभेन्ट्स चौथो, प्रिमियर लिग च्याम्पियन म्यानचेग्टर सिटी पाँचौ तथा फ्रेन्च लिग वान च्याम्पियन पिएसजी छैटौँ स्थानमा छ। यस्तै एट्लेटिको मड्रिड सातौँ, नेपोली आठौँ, टोटनहम नवौँ तथा म्यानचेष्टर युनाइटेड दशौँ स्थानमा छ।