PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पिएम कप क्रिकेट : नेपाल पुलिसको फराकिलो जित



पहिलोपोस्ट

पिएम कप क्रिकेट : नेपाल पुलिसको फराकिलो जित

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो पिएम कप वान डे क्रिकेटमा सोमवार फराकिलो जित हात पारेको छ।

सुनिल धमला र आरिफ शेखको अर्धशतक तथा दीपेन्द्र सिंह ऐरीको शानदार बलिङमा पुलिसले प्रदेश नम्बर ७ लाई डिएल मेथड अनुसार १७४ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गर्दै ३२४ रन बनाएको पुलिसले ३७ ओभरमा घटाइएको खेलमा प्रदेश ७ लाई १३० रनमै रोक्यो। वर्षाका कारण ३७ ओभरमा घटाइएको खेलमा प्रदेश ७ ले ३७ ओभरमा ३०५ रनको नयाँ लक्ष्य पाएको थियो। तर ७ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो।

कीर्तिपुरस्थित टीयू इन्टरनेशनल ग्राउण्डमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२४ रन बनाएको थियो। ओपनर सुनिल धमलाले ११३ बल खेल्दै पुलिसका लागि सर्वाधिक ८३ रन बनाए। धमलाले पहिलो विकेटका लागि दीलिप नाथसँग ९२ रनको साझेदारी गरे।

दिलिपले ५३ बल खेल्दै ४ चौकाको मद्दतमा २७ रन जोडे। यस्तै दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए। त्सपछि क्रिजमा पुगेका कुशल भुर्तेलले २२ रन जोडे।

भुर्तेल आउट भएपछि क्रसिजमा पुगेका आरिफ शेखले आक्रमक ब्याटिङ गर्दै धमलालाई साथ दिए तर ४०औँ ओभरमा तालमेल नमिल्ला धमलाल रनआउट हुन पुगे। ११३ रन खेलेका धमलाले ९ चौका प्रहार गरे। धमला र आरिफले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरे। आरिफले ३७ बल खेल्दै २ चौका र ५ छक्काको मद्दतमा ५७ रन जोडे।

३९.४ ओभरमा २२०-४ को स्थितीमा रहेको पुलिसको लागि उच्च स्कोर बनाउने क्रममा कप्तान मन्जित श्रेष्ठले पनि आक्रमक ब्याटिङ गरे। मन्जितले पाँचौ विकेटका लागि आरिफसँग ५८ तथा छैटौँ विपकेटका लागि सिद्धान्त लोहनीसँग ४६ रनको साझेदारी गरे।

३३ बल खेलेका मन्जितले ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४९ रन बनाए। लोहनीले २६ रन बनाए। अन्तिम बलमा आउट हुनुअघि उनले १३ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। प्रदेश ७ का शेर मल्लले २ विकेट लिए।

प्रदेश ७ का लागि अरुण ऐरीले अर्धशतकिय पारी खेल्नुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। अरुण ऐरीले ८८ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा नटआउट ७० रन बनाए।

बलिङमा पुलिसका दीपेन्द्र ऐरीले ८ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ४ विकेट लिए। यस्तै ७ ओभर बलिङ गरेका ललित भण्डारीले १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए।

समूह बी मा जितपछि पुलिसले १ ले २ अैक जोडेको छ। पहिलो खेलमा प्रदेश ६ लाई हराएको प्रदेश  ७ को यो पहिलो हार हो।


प्रदेश १ को विजयी सुरुवात

यस्तै समूह ए अन्तर्गत मुलपानी क्रिकेट ग्राउण्डमा भएको खेलमा प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई डिएल मेथडमै ६८ रनले पराजित गरेको छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले सुनिल ढुंगानाको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ७ विकेट गुमाएर २२३ रन बनाएको थियो। सुनिलले सर्वाधिक ५१ रन बनाए। यस्तै आक्रमक ब्याटिङ गरेका फिर्दोष अन्सारीले नटआउट ३७ तथा श्रवन यादवले नटआउट ३४ रन बनाए। बलिङमा प्रदेश २ का संसद शेखले ४ तथा महेबुब आलमले २ विकेट लिए।

वर्षाले प्रभावित यस खेलमा प्रदेश २ ले ३४ ओभरमा २१४ रनको नयाँ लक्ष्य पाएको थियो। तर उसले ३० ओभरमा सबै विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो। प्रदेश २ का हरिशंकर शाहले सर्वाधिक ४४ तथा राहुल प्रताप सिंहले २२ रन जोडे।

प्रदेश १ का कप्तान पुष्प थापा र मिनास थापाले ३-३ विकेट लिए भने मनोज तामाङले २ विकेट झारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell